
तेस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता भोलि बिहीवारदेखि आयोजना हुँदैछ ।
राजधानीमा बुधवार आयोजक नेपाल योग खेलकुद संघले पत्रकार सम्मेलनको आयोजना गरेर बिहीवारबाट दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
३ दिनसम्म चल्ने प्रतियोगितामा दक्षिण एशियाका देशहरूले सहभागिता जनाउने छन् । प्रतियोगितामा पाकिस्तान आन्तरिक कारण उपस्थित नहुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।
दोस्रो दिन माउन्ट एभरेस्ट योग फेस्टिभल्स च्याम्पियनसिप हुनेछ । च्याम्पियसिपमा पाँचै महादेशका योग खेलाडीहरूले सहभागिता जनाउने नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सूर्यबहादुर कार्कीले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन २५ गते उद्घाटन सत्र हुनेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्ने कार्यक्रम छ । उद्घाटनकै दिन दक्षिण एशियाली प्रतियोगिता सञ्चालन हुनेछ भने २६ गते दुवै प्रतियोगिता आयोजना हुनेछन् ।
प्रतियोगिताको समापन २७ गते हुनेछ । दक्षिण एशियाली खेलकुदमा २०० भन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन् भने माउन्ट एभरेस्ट च्याम्पियनसिपमा २०३ खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता तिलगंगास्थित नेपाल भारतमैत्री धर्मशालामा दिउँसो २ बजेबाट हुनेछ । प्रतियोगिताका लागि कूल ३० लाख रुपैयाँ अनुमानित खर्च रहेको छ । विभिन्न विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।