
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले इन्टरपोलका प्रमुख अहमद नासेर अल–रैसी र महासचिव जर्गेन स्टकलाई प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन् ।
इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधवारदेखि सिंगापुरमा शुरू भएको १८औं हेड अफ नेसनल सेन्ट्रल व्यूरो (एनसीबी) कन्फ्रेन्सका अवसरमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक कुँवरले झण्डा हस्तान्तरण गरे ।
इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट आरोहणमा सहभागी प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलवार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएका थिए ।
आगामी शुक्रवार सम्पन्न हुने कन्फ्रेन्समा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुने र इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू समेत आदानप्रदान हुने कार्यक्रम रहेको छ ।
एनसीबी काठमाडौंका प्रमुख प्रहरी महानिरीक्षक कुँवर कन्फ्रेन्समा सहभागी हुन सोमवार त्यसतर्फ प्रस्थान गरेका थिए । कन्फ्रेन्समा एनसीबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेतको सहभागिता छ ।