
साविक विजेता मच्छिन्द्र फूटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधवार हिमालयन शेर्पामाथि ३–१ को जीत निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबमाथि ३–१ को जीत निकाल्दै चर्च ब्वाईजसँगको अग्रता छोट्याएको हो ।
जीत हात पार्ने क्रममा मच्छिन्द्रले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप २ गोल गर्दै १ गोल खान पुगेको थियो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले १ तथा आफिज ओलावालेले २ गोल गरे । हिमालयनका पिस्टोन मुटुम्बाले १ गोल सान्तोवना गोल फर्काएका थिए ।
हिमालयन शेर्पामाथि शुरूआतबाट नै हाबी हुँदै खेलेको मच्छिन्द्रले २६औं मिनेटमा विमलको गोलबाट अग्रता लिएको थियो । पुजन उपरकोटीको क्रसमा विमलले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।
खेलको ६८औं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रको अग्रता २–० को बनाउँदा ७७औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० मा पुर्याएका थिए । ओलावालेकोे जारी लिगमा २०औं गोल पनि पूरा भएको छ । हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो ।
खेलको अन्तिम १० मिनेट दुवै टोली १० खेलाडीमा समेटिएका थिए । खेलको ८२औं मिनेटमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । ८५औं मिनेटमा निशान लिम्बूले रातो कार्ड पाएपछि हिमालयन पनि १० खेलाडीमा समेटिएको थियो । विपक्षी खेलाडीसँग झगडा गरेपछि उनलाई रातो कार्ड दिएर मैदान बाहिर पठाइएको थियो ।
त्यसपछि खेलको ९०औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरेपनि मच्छिन्द्र ३–१ ले विजयी भयो । मच्छिन्द्रको यो ११औं जीत हो । जीतसँगै मच्छिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ ।
लिगअन्तर्गत बुधवार नै भएको अर्को खेलमा न्युरोड टीम (एनआरटी)ले मनाङलाई १–० ले स्तब्ध बनायो । स्पष्ट जीत निकाल्ने क्रममा एनआरटीका दिपेश आले मगरले १७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । यससँगै एनआरटीले जारी सिजनमा आठौं जीत निकाल्न सफल भएको छ । एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । पराजित मनाङले २५ खेलमा ३२ अंक जोडेको छ ।