२३ असार २०८३, मंगलबार

उत्पादित गोलभेंडाले मूल्य नपाएपछि कृषक मारमा

जेठ २५, २०८०
उदयपुर
उत्पादित गोलभेंडाले मूल्य नपाएपछि कृषक मारमा
प्रतिकात्मक तस्वीर

उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेंडा उत्पादन गरे । उनले मात्र होइन, वडाका १५० परिवारले सोही हाराहारीमा गोलभेंडा उत्पादन गरेका छन् तर गोलभेंडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ ।

बिक्री भए पनि उनीहरूले उचित मूल्य भने पाउन सकेका छैनन् ।  

वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा ४०० रोपनीभन्दा बढी जग्गामा खुला रूपमा र ४०० रोपनी जतिमा टनेलमा गोलभेंडा उत्पादन गरिएको छ । वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेंडा उत्पादन भएको गोलभेंडा संकलन केन्द्रका नुजराज कार्कीले जानकारी दिए ।

‘उत्पादन पर्याप्त मात्रामा भएको छ तर कृषकले चाहेको जस्तो मूल्य पाएका छैनन्,’ उनले भने, ‘हामीसँग चिस्यान केन्द्र पनि छैन । भण्डारण गरेर राख्न सक्ने अवस्था छैन ।’

कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेंडा संकलन गर्ने गरेको छ । चिस्यान केन्द्र नहुँदा गोलभेंडा भण्डारण गरेर राख्ने र पछि उचित मूल्य पाएपछि बिक्री गर्ने अवस्था छैन । 

कृषक पुष्पराज खड्का गोलभेंडा उत्पादन भएकामा जति खुशी छन् त्योभन्दा बढी उचित मूल्य नपाएकोमा  दुःखी छन् । ‘प्रतिकिलो गोलभेंडा २० रुपैयाँमा बिक्री गर्नुपरिरहेको छ,’ उनले भने, ‘राखौं बिग्रेर जान्छ, सस्तोमा दिए लगानी पनि उठ्ने अवस्था छैन ।’

कार्कीका अनुसार वडाको गोलभेंडा ओखलढुंगा,  सोलुखुम्बु, जिल्लाकै कटारी बजार, गाईघाट, सिन्धुलीको दुधौली र सिरहाको गोलबजारसम्म लगेर बिक्री गर्ने गरिएको छ । ‘उत्पादन धेरै भएपछि बेच्न धनकुटासम्म पठायौं,’ कार्कीले भने, ‘केन्द्रले प्रतिकिलो ३ रुपैयाँ राखेर कृषकलाई दिँदा कृषकले मुस्किलले किलोको ३० रुपैयाँसम्म पाउँछन् ।’

उत्पादन धेरै भए पनि यहाँबाट किनेर लैजाने व्यापारीले गोलभेंडाको उचित मूल्य नदिँदा कृषक मारमा परेका छन् । नगरपालिकाकै वडा नम्बर ३ र ४ मा रहेको बजारमा गोलभेंडा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

‘व्यापारीले हामीलाई ३० रुपैयाँभन्दा बढी दिँदैनन्,’ उनले भने, ‘कृषकले लगानी अनुसारको मूल्य पाएका छैनन् ।’

वडाध्यक्ष हायुका अनुसार वडाको गोठडाँडा, काफलडाँडा, खोल्मेचौर, लप्से, आम्बोटेलगायत गाउँमा गोलभेंडा पर्याप्त मात्रामा उत्पादन भएको छ । यसअघि अदुवा, काउली र डल्ले खुर्सानी उत्पादन गरेका कृषकले २ वर्षयता गोलभेंडा खेतीलाई प्राथमिकता दिँदै आएका छन् । 
 
उत्पादन बढ्दै गएपनि कृषकले बजारसम्म गोलभेंडा पुर्‍याउन सकेका छैनन् । वडाले कृषकको समस्यालाई नगरपालिकासामु राखेको वडाध्यक्ष हायुले बताए । बजारमा भारतबाट आयात गरिएको गोलभेंडा सस्तोमा बिक्री भएका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको हो । स्थानीय उत्पादन बजारीकरण गर्न तथा भण्डारण गर्न नगरपालिकाले सहयोग गर्नुपर्ने कृषकको माग छ ।
 

salt training

कमेन्ट गर्नुहोस्