
भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी ५ महिनादेखि तलबबाट वञ्चित रहेका छन् ।
सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत १०० भन्दा बढी स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब पाएका छैनन् ।
चालू आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईंले जानकारी दिए ।
स्वास्थ्यकर्मीले गत माघ महिनादेखि नेपाल सरकारका करीब ७० स्वास्थ्य शाखाका कर्मचारी एवं स्वास्थ्यकर्मीले तलब नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिने गरी काम गरिरहेको उनले बताए । नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलब पाइरहेका छन् ।
चापागाईंले भने, ‘एउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवं स्वास्थ्यकर्मीले नियमित तलब पाइरहने तर नेपाल सरकारको तर्फबाट तलब खाने स्वास्थ्यकर्मी भने ५ महिनादेखि तलब नपाउँदा कर्मचारीको घर व्यवहारमै समस्या परेको छ ।’
एउटै शाखामा काम गर्ने नगरपालिकाले नियुक्त गरेका कर्मचारीले नियमित तलब पाउने र सरकारका कर्मचारीले तलब नपाउँदा उनीहरूलाई समस्या भएको छ । यहाँका कर्मचारीका लागि मासिक करीब ४५ लाख रुपैयाँ तलबमा खर्च हुने गरेको लेखा शाखाले जनाएको छ ।
नगरपालिकाको लेखा शाखाले भने बजेट सकियो भनेर सरकारले थप रकम नपठाएका कारण तलब खुवाउन नसकेको जानकारी दिएको छ । नगरपालिका लेखापाल महेश भट्टराईले सरकारबाट रकम नआएका कारण तलब खुवाउन नसकेको बताए । तलब खुवाउनु बाँकी रकमको माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिरहेको जानकारी दिँदै उनले तलबका लागि रकम निकासा भएर नआउँदा तलब खुवाउन नसकेको बताए ।