३१ असार २०८३, बुधबार
सगरमाथा आरोहीका कुरा

इन्टरपोल र प्रहरीका पहिलो सगरमाथा आरोही पुरुषोत्तम, निमेषभरले बाँचेर इतिहास रचे

जेठ २५, २०८०
काठमाडौं
इन्टरपोल र प्रहरीका पहिलो सगरमाथा आरोही पुरुषोत्तम, निमेषभरले बाँचेर इतिहास रचे

‘सगरमाथाबाट झर्दै थिएँ । खुम्बु आइसफलभन्दा माथि म एक्कासि चिप्लिएँ । तल खस्दै थिएँ । आफ्नै अगाडि एउटा शव देखेर झसंग भएँ । पछि पो थाहा भयो, म त्यही शवमा अड्किएर बाँचेको रहेछु । झन् डर लाग्यो । तै पनि सम्हालिएँ र सम्झें कसको लाश होला हेर्दा बोल्ला जस्तो छ,’ भर्खरै १९५ देशका प्रहरी संलग्न रहेको इन्टरपोलको एक सयौं वर्ष र नेपाल प्रहरी पनि इन्टरपोलको सदस्य भएको सयौं वर्षको उपलक्ष्यमा जेठ २ गते सगरमाथा चढेका प्रहरी वरिष्ठ नायब निरीक्षक (बसई) पुरुषोत्तम नेपालीले लोकान्तरसँगको कुराकानीमा भने । उनी निमेषभरले जोगिएका थिए ।

‘राति माथि चढेका थियौं । पीकमा पुग्न उत्साहित थिएँ, केही कुरा थाहा भएन, जब बिहान ९ बजे सगरमाथाको चुचुरोमा पुगेर फर्किएँ, तल झर्दा अब मेरो अन्तिम श्वास त्यहीँ जान्छ जस्तो लागेको थियो । तल हेर्दा अनकन्टार हिमभीर र खोंचहरू थिए, अब बाँचिँदैन, ल म मरें भन्ने लागेको थियो,’ उनले थपे ।

बसई नेपाली इन्टरपोलको सदस्य राष्ट्रका सुरक्षाकर्मीको तर्फबाट पहिलो सगरमाथा आरोही हुन् । त्यति मात्र होइन, नेपाल प्रहरीको तर्फबाट पनि पहिलो आरोही हुन् । आफू सगरमाथा चढ्ने पहिलो गीतकार पनि भएको उनी दाबी गर्छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– २ लुक्लामा जन्मेका उनी २०६३ सालमा प्रहरी सहायक निरीक्षक (असई)बाट सेवा प्रवेश गरेका थिए । असईको १३८ औं टोली हुन्, उनी ।

प्रहरी र इन्टरपोलको तर्फबाट सगरमाथा चढ्न पाउँदा आफूलाई भाग्यमानी महसूस गरिरहेको उनी बताउँछन् ।

null

‘इन्टरपोल स्थापनाको १००औं वर्षमा नेपाल प्रहरीको नेतृत्व गरेर इन्टरपोल र प्रहरीको झण्डा सगरमाथामा फहराएको छु । विश्व जगतमा नेपालको छवि उच्च बनाएको छु । आफूलाई भाग्यमानी ठान्छु,’ वरिष्ठ सई नेपालीले लोकान्तरसँगको कुराकानीमा भने, ‘संगठनप्रति आभार पनि व्यक्त गर्छु, संगठन नभएको भए मरो सपना पूरा गर्न पाउने थिइनँ ।’ 

बाल्यकालदेखि नै उनको सगरमाथा चढ्ने सपना थियो । सानोमा ठूला ढुङ्गामा चढेर सगरमाथा चढेको सपना देख्ने र अनुभव गर्ने गर्थे । अहिले आएर उनको सपना पूरा भएको छ ।

संसारका १९५ देशले नेपालको राष्ट्रियता, नेपाली झण्डा र नेपाल प्रहरीलाई हेरिरहेको उनी बताउँछन् । इन्टरपोलको वेबसाइट र ट्विटरमा समेत आफू सगरमाथा चढेको विषय आएकाले उनी निकै खुशी छन् ।

‘इन्टरपोलका प्रमुख, प्रहरी संगठनका प्रमुख र मेरा परिवारले बधाई दिनुभएको छ । उहाँहरू सबै खुशी हुनुहुन्छ,’ उनले लोकान्तरसँग भने, ‘झन् दायित्व बढेको ठानेको छु ।’

उनको परिवारमा श्रीमती र २ छोराछोरी छन् । परिवारको हौसलाले आफूले सगरमाथाको चुचुरो चुम्न पाएको उनी बताउँछन् । 

‘मलाई सबैभन्दा धेरै मेरी श्रीमतीले हौसला दिएकी थिइन्,’ उनले भावुक हुँदै भने, ‘क्याम्प ३ मा पुगेर फर्किँदा मलाई परिवारको धेरै याद आएको थियो । परिवार सम्झेर डर लागेको थियो ।’

सगरमाथा चढ्नुभन्दा अगाडि क्याम्प १ देखि ४ सम्म ३/४ पटक आउने/जाने अभ्यास गरिन्छ ।

परिवार कमजोरी र शक्ति दुवै भएकाले त्यसलाई शक्तिमा बदलेर सपना पूरा गरेको उनी बताउँछन् ।

null

एकपटक त सक्दिनँ, अब फर्कन्छु भन्नेमा पुगेका नेपाली परिवारको हौसलाले अगाडि बढेका थिए । ‘अहिले तपाईं थाकेको मात्रै हो । स्वास्थ्य ठीक छ ।  परिवारको बिछोडले सताएको हो, तपाईं  जानुपर्छ भनेर श्रीमतीले भनेपछि नै म अगाडि बढेको थिएँ,’ वरिष्ठ सई नेपालीले लोकान्तरसँगको कुराकानीमा भने ।

परिवारको तस्वीर खल्तीमै राखेका उनले ३ महिनासम्म त्यसलाई हेर्न पनि सकेनन् । तस्वीर हेर्दा परिवारको यादले सताउँछ र अगाडि बढ्न सक्दिनँ भन्ने उनलाई लागेको रहेछ ।

सगरमाथा आरोहणका क्रममा त्रास र रोमाञ्चकता सँगसँगै अगाडि बढेको उनी बताउँछन् ।

‘खुम्बु आइसफल यात्राको सबैभन्दा डरलाग्दो ठाउँ हो, त्यहाँ जाँदा एकचोटी मुटुले ठाउँ छाड्नु स्वाभाविक हो,’ उनले भने, ‘तर त्यहाँ कञ्चन हिमाल, जता हेर्‍यो उतै हिउँ, काला चट्टानहरू थिए, त्यसले एकातर्फ आनन्दित महसूस भयो भने अर्कातर्फ जीवन नै यत्ति हो कि भन्ने पनि लाग्यो ।’

तस्वीर पुरुषोत्तम नेपाली स्वयंले उपलब्ध गराएका हुन् ।

लबुजे (खुम्बु आइसफल बराबरको हिमाल सगरमाथा चढ्नु अगाडि अनिवार्य चढिन्छ) चढ्नुभन्दा अगाडि क्याम्प १ र क्याम्प २ मा निकै गाह्रो भएको उनी बताउँछन् ।

‘एउटा डोरीको भरका सयौंजना हिँड्दा मृत्युसँग साक्षात्कार गरेको अनुभव हुन्छ,’ उनले भने ।

क्याम्प ४ पछि त्यहाँ हिउँभन्दा अरू केही हुँदैन । सगरमाथा चढ्दा राति पनि यात्रा गर्नुपर्छ । जति छिटो हिँड्न सक्यो त्यति नै छिटो चुचुरोमा पुग्न सकिन्छ ।

जेठ २ गते वरिष्ठ सई नेपालीको टोली बिहान २ बजे उठेर हिँडेको थियो । सगरमाथाको टुप्पोमा पुग्दा १० बजेको थियो । उनले त्यहाँ पुगेर नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराएको बताए । 

तस्वीर पुरुषोत्तम नेपाली स्वयंले उपलब्ध गराएका हुन् ।

‘हामीले प्रकृतिलाई देवीको रूपमा मान्छौं । त्यहाँ पुगेर पहिला ढोगें अनि संसारमा शान्ति फैलियोस् भनेर कामना गरें,’ नेपालीले लोकान्तरसँगको कुराकानीमा भने, ‘नेपाल प्रहरीको धर्म र दायित्व सुरक्षा दिनु भएकाले त्यसलाई पहिलो शब्दका रूपमा उच्चारण गरेको थिएँ ।’ 

सगरमाथाको चुचुरोमा पुगेपछि उनले अरू केही सोच्न सकेनन् । केहीबेर प्रकृतिलाई नियाले अनि फर्किए ।

‘पीकमा धेरै बस्नु भनेको आफ्नो इनर्जी लस गर्नु हो, जसले मृत्युको मुखमा पुर्‍याउन केहीबेर लाग्दैन,’ उनले भने ।

आफू सगरमाथा चढ्दा नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश १९५ देशमा फैलिएको उनको विश्वास छ । नेपाली पर्यटन र नेपाल प्रहरी एक अर्काका परिपूरक हुन्, जसले गर्दा यो क्षेत्र सुरक्षित छ भन्ने सन्देश गएको उनको तर्क छ ।

चुचुरोबाट क्याम्पमा फर्किएपछि पहिलो फोन श्रीमतीलाई गरेको उनी बताउँछन् । श्रीमतीसँग कुरा गर्दा उनको आँखाबाट आँसु झरेको थियो ।

‘मैले समिट गरें भनेर आँसु झार्दै फोन गरेको थिएँ,’ उनले सम्झिए, ‘श्रीमतीले बधाई छ भनेपछि एकछिन बोली नै रोकियो ।’

तस्वीर पुरुषोत्तम नेपाली स्वयंले उपलब्ध गराएका हुन् ।

सगरमाथा चढेर फर्किएपछि १४ वटा अग्ला चुचुरा चढेर विश्व कीर्तिमान बनाएका निर्मल पुर्जाले बधाई दिँदा आफू थप भावुक बनेको उनी बताउँछन् ।

‘समिटबाट फर्केर क्याम्प ४ मा आएपछि निम्स दाजु (निर्मला पुर्जा)ले बधाई छ मेरो भाइ भन्दा मैले मन थाम्न सकिनँ, उहाँले अंगालो हाल्नुभएको थियो, म रुन पुगेछु,’ भावुक हुँदै बसई पुरुषोत्तम नेपालीले लोकान्तरसँग भने ।

उनीसँगै अमेरिकाको एक शहरका मेयर, अमेरिकी सेनाका जर्नेल र कतारकी राजकुमारी पनि गएका थिए । तर, मेयरले भने समिट गर्न नसकेको उनले बताए ।

उनले इन्टरपोल र नेपाल प्रहरीको तर्फबाट पहिलो आरोही भएर इतिहास रचेका छन् । उनलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले जेठ १९ गते प्रहरी प्रधान कार्यालयमा सम्मान गरेका थिए ।

वि.सं. २०३३ सालमा प्रहरी नायब उपरीक्षक (डीएसपी) कमल भण्डारीको नेतृत्वमा ९ सदस्य टोलीले नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै टुकुचे हिमाल आरोहण गरेको थियो ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्