
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक पटक आर्थिक क्रान्ति गर्नुपर्ने समय आएको बताएका छन् ।
आइएमई गु्रपद्वारा बुटवलमा निर्माण गरिएको लुम्बिनी केबलकारको बिहीवार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको सिथिल अथतन्त्रलाई उठाउन आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताए ।
मुलुकसँग अहिले माग्ने अवस्था नभएको बताउँदै उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै आवश्यक रहेको बताए । ‘दुर्घटनाग्रस्थ अवस्थामा पुगेको अर्थतन्त्र लय समातेको छ । लगानीका सम्भावनाहरू खोजी गरी आर्थिक सीमाभित्र रहेर विकास निर्माणमा केन्द्रित हुन एकपटक आर्थिक क्रान्ति र समृद्धितर्फ जानुपर्ने अवस्था आयो ।’ उनले भने । अहिलेको विकास मोडलबारे पनि सोच्नुपर्ने अवस्था आएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री प्रचण्डले ठप्प भएको अर्थतन्त्रलाई चलायमान बनाउन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन गर्ने तयारीमा रहेको बताए ।
सरकार देश विकासका लागि निजी क्षेत्रसँग लगानीका सम्भावना खोजी गर्न खुला रहेको उनले प्रष्ट पारे । ‘निजी क्षेत्रलाई दह्रो बनाउन म प्रष्ट छु’ प्रधानमन्त्रीले भने, ‘निजी क्षेत्रसँग सहकार्यविना देश विकास सम्भव छैन ।
तपाईंहरू (चन्द्र ढकाल) ठूला संरचनाहरू बनाउदै जानुहोस । हामी उद्घाटन गर्छौं ।’ देशका विभिन्न ठाउँमा बनेका केबलकारजस्ता ठूला परियोजनाले देशको अर्थतन्त्रलाई चलायमान गराउन ठूलो योगदान पुर्याएको दाहालको भनाइ छ । बुटवल ऐतिहासिक शहर भएको बताउँदै प्रधानमन्त्री दाहालले बुटवलसँग आफू सानैदेखि परिचित समेत रहेको बताए ।