
एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत बिहीवार भएको खेलमा चीनसँग नेपाल पराजित भएको छ ।
म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो ।
यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ०–५ गोलअन्तरले नै पराजित भएको थियो ।
बिहीवार खेलको १६औं मिनेटमा ओउयाङ युहयानले गोल गर्दै चीनलाई शुरूआती अग्रता दिलाइन् । होउ युसीले खेलको २६औं मिनेटमा गोल गर्दै चीनको अग्रता दोब्बर बनाइन् । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा चीनले २ गोल थप्यो ।
चीनकी यिनली होङ र लु जुआयुले १–१ गोल थपे । त्यसपछि खेलको ८९औं मिनेटमा यु जियाकीले गोल गर्दै चीनलाई ५–० को जीत दिलाए । जीतसँगै चीनले ६ अंक जोडेको छ । चीनले पहिलो खेलमा चाइनिज ताइपेलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
अब नेपालले छनोट चरणको अन्तिम खेल जेठ २७ गते चाइनिज ताइपेसँग खेल्नेछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको छ ।