३१ जेठ २०८३, आइतबार

काभ्रेको भकुण्डेबेंसीमा सुरु भयो ‘ग्रामीण चलचित्र महोत्सव’ [तस्वीरहरू]

पहिलो दिन ‘झिंगेदाउ’लगायतका फिल्म देखाइयो
जेठ २६, २०८०
काठमाडौं
काभ्रेको भकुण्डेबेंसीमा सुरु भयो ‘ग्रामीण चलचित्र महोत्सव’ [तस्वीरहरू]

काभ्रेको भकुण्डेबेंसीमा दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । 

शुक्रवार नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा, आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता मुकुन भुषाल, कलाकार उत्तम केसीलगायतले संयुक्त रुपमा महोत्सवको समुद्घाटन गरेका हुन् । 

त्यसअघि ४ सय बढीको सहभागितामा स्थानीय कला संस्कृति झल्किने झाँकीर्यालीसमेत निकालिएको थियो ।

पहिलो दिन गतवर्षको हिट ‘झिंगेदाउ’लगायतका फिल्म प्रदर्शन गरिएको छ । समीक्षात्मक रुपमा रुचाइएको प्रदीप खड्का र दीया मास्के स्टारर फिल्म ‘प्रकाश’ पनि शुक्रवार बेलुका प्रदर्शन हुँदैछ । शनिवारसम्म ग्रामीण परिवेशमा बनेका १७ वटा फिल्म प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष सापकोटाले बताए । 

जुरी टिमका सदस्य फिल्म सम्पादक भरत रेग्मी, निर्देशक उत्तम अधिकारी, स्थानीय संयोजक सुरज अधिकारी, सम्पादक मित्र डि. गुरुङ लगायत महोत्सवमा उपस्थित छन् । शनिवार थुप्रै फिल्मकर्मीहरु काठमाडौंबाट भकुण्डेबेसी पुग्नेछन् । 

महोत्सवको जुरीमा फिल्म सम्पादक रेग्मीसहित चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र अभिनेता सुवास गजुरेल छन् । 

शनिवार फिल्म प्रदर्शनसँगै लेखक तथा निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ समेत सञ्चालन गर्दैछन् । आयोजक संस्थाका अध्यक्ष सापकोटाका अनुसार अभिनेता बुद्धि तामाङ र मुकुन भुसालले ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ विषयमा विद्यार्थीहरूसँग भलाकुसारी गर्ने कार्यक्रम पनि शनिवारका लागि तय गरिएको छ ।
। 

चलचित्र विकास बोर्डसँगको सहकार्यमा भएको महोत्सव उत्कृष्ट फिल्मलाई अवार्ड वितरण गर्दै शनिवार साँझ समापन हुनेछ । महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा आयोजना गरिएको थियो । फिल्म हलको सुविधा नभएका क्षेत्रका दर्शकलाई लक्षित गर्दै महोत्सवको थालनी गरिएको आयोजकको भनाई छ । 

समुद्घाटनका क्रममा वक्ताहरूले ग्रामीण चलचित्र महोत्सवको महत्वका बारेमा बोलेका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्