२७ जेठ २०८३, बुधबार

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

जेठ २७, २०८०
बाग्लुङ
‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी ।

घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइँ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसूस गरिराखेकी छन् ।

अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ । १ दशक अगाडिसम्म गाउँबाट बसाइँसराइँँ गरेर बजार झर्नेको संख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छाड्नेको संख्या बढ्दो छ । 

उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँ छोरेर बसाइँ सरेका छन् । पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे । अहिले गाउँगाउँमा टोलटोलमा विकास पुगेको छ मान्छे छैनन् । गाउँमा ढुंगा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन् ।

खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् । दशक अगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ तर अहिले बसाइँसराइँका कारण चहलपहल हराउन थालेको छ । विक्रम संवत् २०६६ सालमा सडकले जोडिएको धम्जा गाउँमा अहिले विकासले गति लिदै गएको छ तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै गाउँ छोड्दै छन् ।

पहिले गाउँमा एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने खेती किसानी गर्ने गर्थे । सामान्य सेवा लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन् । स्थानीय महत्त्वाकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको चन्द्रकुमारी बताउँछिन् । उनले आफ्नो पालामा अहिलेको जस्तो यातायात, खानेपानी, विद्युत् र स्वास्थ्यको सहज पहुँच नभए पनि गाउँमा मान्छेको चाप बढी भएको भन्दै अहिले सुविधा भएर पनि बसाइँसराइँँ गरिरहेको बताइन् ।

‘उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैनथे, बाटो नै बनेको थिएन, हामीहरू १ हप्ता लगाएर थाकखोला पुगेर ढिके नून बोकेर आउँथ्यौँ, स्याङ्जा पुगेर चामल लिएर खान्थ्यौं, चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौं, अहिलेको जस्तो फेसन–फेसनका लुगा थिएनन्, भोटो लगाउँथ्यौं,’ उनले भनिन्, ‘बिजुली पनि थिएन, दियालो, टुकी बालेर रात बिताउनुपथ्र्यो, अहिले यस्तो विकास होला भन्ने त सोचेका थिएनौं, गाउँ पनि धेरै फेरिएको छ, गाउँमा विकास आएर के गर्ने, मान्छे सबै शहर बजारतिर झर्न थाले ।’

स्थानीय ६२ वर्षीय नगेन्द्रबहादुर भण्डारीले रोगार र विदेश हुने अधिकांश युवाको परिवार शहर बजारमा सुविधा खोज्दै झरेको बताए । उनले पछिल्लो १० वर्षमा धम्जाबाट बसाइँसराइँँ गर्नेको संख्या बढ्दै गएको सुनाए । १४ वर्ष अगाडि गाउँमा सडक नआउँदासम्म स्थानीय गाउँमै दुःख गरेर बसेको भन्दै गाउँमा विकास आउन थालेपछि बजार भर्न थालेको उनको भनाइ छ । स्थानीय विदेश जना थलेपछि उनीहरुमा महत्त्वाकांक्षा बढी हुँदै गएपछि बसाइँसराइँ गर्न थालेको भण्डारी बताउँछन् ।

उनी भन्छन्, ‘पहिले विदेश जाने संख्या कम थियो, धेरै गाउँमा खेतीपाती गर्ने, गाउँमै कामधन्दा गर्ने गर्थे, सरकारले विदेश जाने बाटो सहज बनाइ दिएपछि धेरै विदेश जान थाले, पैसा कमाउन थाले त्यसले गर्दा उनीहरूलाई गाउँभन्दा शहर बजार मन पर्न थाल्यो, त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन्, विदेश हुने धेरैजसो युवाका परिवार अहिले बजारमा छन्, कतिपय आजभोलिनै बजार झर्दैछन्, खै किन यसरी मान्छेहरू गाउँ छोडी राखेका छन् ?, मलाई पनि निकै आश्चार्य लागेको छ, विकास छैन भनौं भने विकास पनि भएकै छ ।’

सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइँ रोकिने भण्डारीले बताउँछन् । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । बसाइँसराइँका कारण यस वडामा रहेका विद्यालयमा विद्यार्थीको संख्या पनि दिनदिनै घट्दै गइरहेको छ ।– डम्मर बुढामगर/रासस
 

salt training

कमेन्ट गर्नुहोस्