×

त्यतिबेला गोपाल सर्लाही हरिवनको एक सरकारी कार्यालयमा जागिरे थियो । एक दिन उसलाई काम विशेषले काठमाडौं जानुपर्ने काम पर्‍यो । साथमा थियो थापा थरी सहकर्मी साथी हरिवनकै ।

साँझ ५ बजेतिर हरिवनबाट छुटेको बस चिया खानका लागि चन्द्रनिगाहापुर पुगेर रोकियो । गोपालले पनि चिया बिस्कुट खायो साथीसँगै ।


Advertisment

थापा काजी साथी थियो बढी नै ठट्टा र मोजमस्ती गर्न चाहने । उसले चुरोटमा चरेस भरेर ल्याएको रहेछ । खाने होइन भन्दै बस हिँड्नासाथ एक खिल्ली चुरोट निकाल्यो । चरेसको नाम सुन्ने बित्तिकै गोपालले झस्किँदै भन्यो, ‘चरेस ! कहाँबाट ल्याइस् ?’ तर उसले मरिकाटे बताएन । उल्टै ‘जहाँसुकै फलोस् फल खान पाए भएन र ?’ भन्दै सलाई कोर्नतिर लाग्यो ।


Advertisment

शुरूमा आफैंले २–४ सर्को तानेर गोपाललाई दियो । गोपालले त्यसअघि चरेसको नाम मात्र सुनेको थियो, खाएको थिएन । सोझै नकार्दै भन्यो, ‘अहँ म त खान्न तिमी खाऊ ।’ 

उसले गोपालको कुरा सुन्नै चाहेन । मुस्कुराउँदै भन्यो, ‘एक पटक तानेर त हेर मजा आउँछ । यस्तै यात्रामा त खाने हो नि ! अघिपछि त म पनि कहाँ खान्छु र ?’

सायद ‘संसर्गजा दोष गुणा भवन्ति’ भनिएको यसैलाई हुनुपर्छ । उसकै लहैलहैमा लागेर गोपालले पनि १–२ सर्को तान्यो । 

हिजो आज सार्वजनिक यातायातमा धुम्रपान गर्न पाइन्न क्या र ! सरकाले नै त्यस्तो नियम बसाए जस्तो लाग्छ तर त्यतिबेला त्यस्तो थिएन । प्रायः सबै यात्री चुरोट–बिँडी तानिरहेका हुन्थे । केही यात्री नखाने पनि हुन्थे र विरोध पनि गर्थे तर बहुमतको अगाडि कसको के लाग्ने ? अल्पमतलाई पेल्नेहरूको कमी अहिले त छैन भने यो त थियो उस जमानाको कुरा । 

चरेस तान्ने बित्तिकै गोपाललाई एकछिन रिँगटा लागे जस्तो भएको थियो । त्यसपछि के भो उसैले थाहा पाएन । 

करीब १२ बजेतिर नारायणघाट आएर बस रोकिएको रहेछ खाना खानका लागि । साथीले बोलाएपछि ब्युँझियो र नजिकैको होटलमा छिर्‍यो हल्लिँदै तर खाना भने कति खायो पत्तो पाएन । खाना दिने भाइले कति पटक थप्यो, त्यो पनि थाहा भएन । बिस्तारै दिन छाड्यो । गोपाल माग्थ्यो ऊ हुन्छ भन्दै जान्थ्यो र उतै हराउँथ्यो । गाडीले यात्री बोलाउन थाल्यो हर्न थिचेर । विचरा गोपाल के गरोस् पेट भरिएकै थिएन । साथीका निम्ति बलै तानेर बसमा खोच्नुको विकल्प थिएन ।  

त्यति बेलासम्म सायद पिरो र अमिलोले होला गोपालको नशा केही उत्रिसकेको थियो तर भइदियो के भने बस छुट्नासाथ साथीले पुनः अर्को खिल्ली सल्कायो र १–२ सर्को तानेर उसलाई पनि दियो । गोपाल पनि के कम ? अब त उसले पनि स्वाद पाइसकेको थियो । २–३ सर्को मज्जैले तान्यो । त्यसपछि भने गोपाललाई अलि बढी नै भयो । एकैछिनसम्म त गाडी गुडेको थाहा पाएको थियो, त्यसपछि भने गडबड नै गडबड !
 
बस कहिले झ्वाम्म त्रिशूलीमा खस्थ्यो, कहिले ढड्याम्म पहरोमा ठोकिन्थ्यो । प्रत्येक पटक गोपाल लौ मार्‍यो भन्दै चिच्याउँथ्यो तर सुन्ने कसले । हुन सक्छ उसलाई कराएको जस्तो लागेको मात्र पो थियो कि ? यस्तै–यस्तै विपत्तिको सामान गर्दै उसलाई मुग्लिन आइपुगेकोसम्म हेक्का छ, त्यसपछि कहाँ पुग्यो र के भयो ? पत्तो पाएन ।

ब्युँझिँदा आफूलाई काठमाडौंको पुरानो बसपार्कमा पायो । त्यो पनि निकैबेर नियालेर हेर्दा मात्र थाहा पाएको हो । पहिले त कहाँ हो कहाँ जस्तो लागेको थियो । समय भने नजिकैको घण्टाघरले संकेत गरेको थियो १२ बज्यो भनेर । झोलातिर हेर्‍यो केही देखेन । खल्ती छाम्यो त्यो पनि भेटेन । कुन सट्को कुनै सज्जनले झोला र पैसाको समेत १२ बजाइसकेका रहेछन् । नचाहिँदो भाउँतो गरेपछि फल नभोगी कहाँ सुख पाइँदो रहेछ र ?

उता साथी भने अहिले पनि घुरिरहेको थियो । उसले आत्तिँदै बोलायो र आफ्नो हालत बतायो । ऊ पनि हो र भन्दै उठेर खल्ती छाम्न थाल्यो । उसको पनि सँगसँगै हालत खराब भइसकेको रहेछ । न साथको झोला भेट्यो, न खल्तीको पैसा । 

अब पर्‍यो फसाद ! के गर्ने ? साथमा दुवैसँग १ पैसा छैन । कामका लागि काठमाडौं आएको अन्यत्रै फसाइदियो कसैले साह्रै नराम्रोसँग । त्यसपछि उनीहरू दुःख पाइस् मंगले आफ्नै ढंगले भन्ने पुरानो उखान सम्झिँदै रत्नपार्कतिर लागे । रत्नपार्क त पुगे तर गर्ने के ? काठमाडौंको रत्नपार्कमा कठैवर भन्ने को नै हुन्छन् ?

त्यत्तिकैमा एउटा चमत्कार भयो । त्यतै कतै खुइय गरेर बसिरहेको बेला गाउँतिरका एक पुराना साथी फेला परे । उनी कताबाट आएका थिए र कहाँ जान हिँडेका थिए ? उनै जानून् । गोपाललाई भने साक्षात् भगवान् नै उपस्थित भएका हुन् कि जस्तो लाग्यो ।

गोपालले उनैलाई आफ्नो हालत बतायो र सहयोगको याचना गर्‍यो । उनी रहेछन् अलि बढी नै मनकारी । तत्कालै त्यहीँको होटलमा लागेर खाना खुवाएर त्यसै दिन बेलुकाका लागि बसको टिकट काटिदिए । त्यसपछि राम्रोेसँग जानुहोला है भन्दै बाटो खर्चबापत ५०० रुपैयाँ थमाएर हिँडे । त्यसपछि कता लागे ? पत्तो भएन । गोपालले न कहाँबाट आएका थिए भन्ने थाहा पाएको थियो, न कता हिँडे भन्ने नै थाहा पायो ।

त्यतिबेला गोपालले यो गुन तिर्न त सक्दिनँ तर पैसा भने भेटेको बेला फिर्ता गर्छु है भनेर उनलाई बिदा गरेको थियो तर भेट्न भने अहिलेसम्म पनि सकेको छैन । हुन सक्छ उनीसँगको भेट पनि भाङको नशामा त्रिशूलीमा बस खसे जस्तै पो थियो कि तर उनले सहयोग गरेका भने साँचो थियो । नत्र उनीहरू कसरी हरिवन फर्कन सक्थे र ? गोपालका लागि अहिलेसम्म पनि यो रहस्य–रहस्यमै रहेको छ र सम्भवतः पछिसम्म पनि रहस्यमै रहनेछ । 

त्यस दिनदेखि गोपालले यस्तो नशालु चिजको सेवन कहिल्यै गर्ने छैन भनेर कसम खायो । साथीले के कुन्नि थाहा छैन । किनकि हरिवन छाडेदेखि ती सहकर्मी साथीलाई गोपाले भेटेकै छैन ।

संसारमा नराम्रो कर्म गर्ने मानिसले राम्रो फल पाएको उदाहरण कतै भेटिएको छैन । जस्तो करणी उस्तै भरणी भन्ने त उखानै छ । गोपाल र उसको साथीलाई पनि त्यस्तै भएको छ । हाल उसले के सोचेको छ कुन्नि थाहा छैन तर गोपाललाई भने अहिले पनि त्यसलाई सम्झिँदा कस्तो कस्तो लाग्ने गरेको छ । 
 

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

जेठ ९, २०८१

बहुप्रतिभाका धनी कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनालको सिर्जनाले विश्वको कुना–कुनासम्म स्थान बनाएको छ । गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेक...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

एकीकृत समाजवादीको महाधिवेशनले दिएका ७ सन्देश

एकीकृत समाजवादीको महाधिवेशनले दिएका ७ सन्देश

असार २४, २०८१

नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन गरेर एउटा सन्देश प्रवाह गरेको छ । असार (१६–२१)मा सम्पन्न महाधिवेशनले पार्टीका नेता–कार्यकर्ता, प्रतिस्पर्धी दल, निजी क्षेत्रलगायत नेपालप्रति चासो राख्ने मित्रराष्ट्र ...

x