
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् ।
शनिवार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङस्थित पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचणंडले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको बताएका हुन् ।
उनीहरूले विरोधका लागि विरोधको राजनीति गरिरहेको प्रचण्डको भनाइ छ । 'सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गर्यौँ। त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ’ उनले भने, ‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन। यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन् । सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिएका छन्। राम्रो गर्दै नगर्ने, राम्रो गर्नै नदिने तत्वहरू विरोधका लागि विरोध गरिरहेका छन्।’
प्रधानमन्त्रीले सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचारविरोधी अभियानले निरन्तरता पाउने बताए । ‘सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको छ। यो कुनै मुद्दामा मात्र होइन, देशमा सुशासन स्थापित गर्न हामी थप दृढताका साथ अघि बढ्छौँ,' उनले भने, 'भ्रष्टाचारविरोधी अभियान निरन्तर अगाडि बढ्छ। सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्छौं।’
अर्थतन्त्रको चुनौतीबीच पनि नीति, कार्यक्रम र बजेटमा अधिकतम सन्तुलन मिलाएको उनले बताए ।‘विदेशिएका युवाहरू स्वदेश फर्काउने कार्यक्रम ल्याएका छौँ। राज्य अभिभावक बनेर उत्पादन र रोजगारी प्रवर्द्धन गर्न तत्पर छ,' उनले भने, 'विदेशबाट आर्जन गरेको पुँजी, सीप, प्रविधिको सदुपयोग गर्ने वातावरण बनाएका छौँ । यसपटक राष्ट्र र जनताको पक्षमा राम्रो मात्र गर्ने, नराम्रो गर्दै नगर्ने नीति लिएको छु।'
विदेशमा रहेका नेपालीहरूलाई विदेशबाटै मतदानको अधिकार दिने नीति व्यवहारमा कार्यान्वयन हुन लागेको उनले बताए ।