२४ जेठ २०८३, आइतबार

छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की, अनुमोदनको तयारी

जेठ ३०, २०८०
काठमाडौं
छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की, अनुमोदनको तयारी

आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन् ।

जेठ ३२ गते संसदीय सुनुवाइ गरेर कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई अनुमोदन गर्न लागिएको हो ।

संघीय संसद् संयुक्त संसद् नियमावलीमा भएको व्यवस्थाअनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का भएको छ । संसदीय सुनुवाइमा प्रस्ताव अनुमोदनका लागि बहुमत भए पुग्ने र अनुमोदन नगर्न दुईतिहाइ सदस्यको मत चाहिने भएकाले समितिमा रहेको मतको आधारमा कार्की छोटो समयको लागि प्रधानन्यायाधीश बन्ने भएका संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बताए ।

उनले भने, ‘प्रस्तावित व्यक्ति अनुमोदन हुने/नहुने भन्ने विषय समितिले निर्णय गर्ने विषय हो । प्रस्तावित व्यक्तिसँग समेत छलफल गरिसकेपछि समितिको बैठकले नियमावली बमोजिम दुईतिहाइबाट अस्वीकृत भएन भने अनुमोदन भएको मान्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।’ 

संसदीय सुनुवाइ विशेष समितिको संरचनामा सत्तापक्षका सांसदहरूको बहुमत भएकाले कायममुकायम प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीशमा अनुमोदन हुन लागेका हुन् । अनुमोदनपछि प्रधानन्यायाधीश कार्कीले आफ्नो काम नियमित रूपमा असार २० गतेसम्म मात्र गर्नेछन् ।

प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा १ महिनाअघि बिदामा बस्ने चलन छ । 

संसदीय सुनुवाइ हुनुअघि समितिले कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । संघीय संसद् सचिवालयका प्रवक्ता गिरीले समितिमा २९ वटा उजुरी परेका र त्यसको छानबिन र अनुसन्धान भइरहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्