लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
एलएनए सिनियर छात्रा तथा एन्जल्स हार्ट जुनियर छात्रतर्फ च्याम्पियन बनेका हुन् ।
तारकेश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर छात्राको उपाधि भिडन्तमा एलएनएले न्यू एरालाई २३–१४ अंकले पराजित गरेको हो । एलएनएको जीतमा सिमरन महर्जन एक्लैले ८ अंकको योगदान दिइन् ।
मनमैजुस्थित एलएनएको कोर्टमा बुधवार भएको जुनियर छात्र फाइनल खेलमा रुपेश पौडेलको १४ अंकको सहयोगमा एन्जल्स हार्टले एलएनएलाई ५१–३३ अंकले पराजित गर्यो । दुवै समूहतर्फ हिमरश्मीले तेस्रो स्थानमा चित्त बुझायो ।
फाइनलमा सर्वाधिक अंक जोडेका रुपेश र सिमरन आ–आफ्नो विधामा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । जुनियर छात्रतर्फ एलएनएका साहिद पुन तथा सिनियर छात्रातर्फ न्यु एराकी प्रनिशा श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक अंक जोड्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहे । साहिदले ५६ तथा प्रनिशाले ५० अंक बनाइन् ।
विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, तारकेश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन र उपाध्यक्ष गोपाल बुढाथोकी, तारकेश्वर नगरपालिका–१० का अध्यक्ष कुमार राई लगायतले पुरस्कार प्रदान गरे ।
जेठ २५ गतेदेखि आरम्भ भएको प्रतियोगिताको जुनियर छात्रतर्फ १६ तथा सिनियर छात्रातर्फ १४ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।