
चालू आर्थिक वर्षको अन्तिम महिना शुरू हुनै लाग्दा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम तरलताको चाप बढेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको २६ जेठसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकमा मात्रै करीब ३ खर्ब रुपैयाँ तरलता (लगानीयोग्य रकम) थुप्रिएको छ ।
बैंकहरूमा निक्षेप बढेको र कर्जाको माग कम भएका कारण लगानीयोग्य रकम थुप्रिएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बताए ।
उनका अनुसार विगतदेखिकै तथ्यांक हेर्ने हो भने पनि जेठ–असारमा निक्षेप बढ्ने र कर्जा रोकिने हुन्छ । विगतमा जस्तै यो वर्ष पनि जेठसम्ममै बैंकहरूमा निक्षेप बढेको र कर्जा विस्तार कम भएको छ । अब असारमा पनि बैंकहरूको कर्जा विस्तार हुने देखिँदैन ।
पछिल्लो महिना बैकिङ प्रणालीमा बढेको तरलताले बैंकहरूलाई यो आवको वित्तीय विवरण मेन्टेन गर्न सहज भइरहेको छ । बैंकहरूले वित्तीय विवरण मेन्टेन गर्न बर्सेनि आर्थिक वर्षको अन्तिम महिना कर्जा प्रवाह रोक्ने गरेका छन् भने निजी क्षेत्रबाट पनि माग कम आउने गरेको जानकारी शर्माले दिए ।
पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको रकमले आर्थिक क्षेत्र सुस्त हुनुमा तरलता अभाव मात्र कारण होइन भन्ने पुष्टि भएको तर्क शर्माको छ ।
चालू आवको वैशाखसम्म भने बैंकहरूमा पर्याप्त तरलता थिएन । सेवाग्राहीहरूले कर्जा पाउन नसकेको गुनासो सुनिने गरेको थियो ।
पछिल्लो समय रेमिट्यान्सको वृद्धि, आर्थिक वर्षको अन्त्यमा कर्जाको मागमा कमी तथा बैंकहरूले पनि पुराना ऋणलाई नवीकरण गर्दै नयाँ ऋण कम प्रवाह गरेकाले बैंकिङ प्रणालीमा तरलता बढेको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार २९ जेठसम्म बैंकिङ प्रणालीमा निक्षेप ५५ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ । यो निक्षेपबाट बैंकहरूले ४८ खर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
वाणिज्य बैंकहरूको मात्रै यो अवधिसम्मको निक्षेप ४८ खर्ब ८५ अर्ब रुपैयाँ छ । यो अवधिमा कर्जा प्रवाह भने ४२ खर्ब ९८ अर्ब रुपैयाँ मात्रै रहेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४.४० प्रतिशत छ । बैंकहरूले राख्नुपर्ने अनिवार्य नगद मौज्दातबाहेक समग्र बैंकिङ प्रणालीमा करीब सवा ३ खर्ब तरलता थुप्रिएको छ ।
यस्तो तरलतामध्ये वाणिज्य बैंकहरूमा मात्रै ३ खर्ब रुपैयाँकै हाराहारीमा रहेको देखिन्छ । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षमा करीब साढे ३ खर्ब निक्षेप संकलन गरेर अहिलेसम्ममा करीब २ खर्ब रुपैयाँजति कर्जा विस्तार गरेका छन् ।
सानिमा बैंकका सीईओ निश्चल पाण्डे असार लाग्नै लागेको र १५ जेठपछि कर्जा प्रवाह कम नै हुने भएकाले तरलता अझै बढ्न सक्ने तर्क गर्छन् ।
यो वर्ष जेठमै निक्षेप बढ्नु, बैंकहरूको सीडी रेसियो मेन्टेन भइरहनु र कर्जाको माग पनि कम हुनुले तरलता बढ्न पुगेको उनको भनाइ छ ।
विगतको एक दुई वर्षबाहेक जेठदेखि निक्षेप बढ्ने, असारमा कर्जा कम प्रवाह हुने गरेको छ । विगतका वर्षको तुलनामा यो वर्ष कर्जा विस्तार कम हुने देखिएको भए पनि ठप्प भने नभएको सीईओ पाण्डेले बताए ।
हिजोका दिनमा पैसा नै छैन भन्ने बैंकहरूमा पछिल्लो समय निक्षेप बढेर केही सहज हुँदै गएको हो । निक्षेप र कर्जाको माग सधैं एकैनासको नहुने भएकाले कहिले बढी, कहिले घटी हुनुलाई स्वाभाविक मान्नुपर्ने पनि पाण्डेको तर्क छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठ सरकारले जस्तो नीति बनायो त्यसको परिणाम तेस्तै आउने तर्क गर्छन् ।
सरकारले बैंकहरूलाई कर्जा विस्तारमा रोक लगाउने, कम कर्जा दिने, निजी क्षेत्रले पैसा नलिओस् र खर्च पनि कम गरोस् भन्ने नीति लिएकाले यो वर्ष सोहीअनुसार बैंकबाट कर्जा विस्तार रोकिएको श्रेष्ठको बुझाइ छ ।
पछिल्लो समय बैंकबाट पैसा लिएर काम गर्ने वातावरण नरहेको उनले बताए । लगानीको सुरक्षा नभएको, ब्याजदर बढी भएको र नयाँ क्षेत्रले जोखिम मोल्न नचाहेका कारण कर्जा विस्तार रोकिएर बैंकहरूमा तरलता बढेको उनको विश्लेषण छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल पनि बैंकहरूमा कर्जाको माग नआउनुको प्रमुख कारण नै ब्याजदर बढी हुनु भएको बताउँछन् ।
उनले भने, ‘विगतका वर्षमा ७ प्रतिशतमा सीमित रहेको ब्याजदर अहिले १४/१५ प्रतिशत पुगिसकेको छ, जसका कारण निजी क्षेत्रले ऋण लिएर कामै गर्न सकेको छैन ।’
बैंकको चर्को ब्याजदर, लगानीको वातावरण नहुनु र निजी क्षेत्रप्रतिको सरकारी बेवास्ताका कारण पनि कर्जाको माग कम भएको विश्लेषण उनले गरे ।