२८ जेठ २०८३, बिहीबार
समाजवादी मोर्चा

माधव, उपेन्द्रदेखि विप्लवसम्मलाई समेटेर समाजवादी मोर्चा घोषणाको तयारीमा प्रचण्ड

जेठ ३२, २०८०
काठमाडौं
माधव, उपेन्द्रदेखि विप्लवसम्मलाई समेटेर समाजवादी मोर्चा घोषणाको तयारीमा प्रचण्ड

कम्युनिस्टसहितका चार दलको समाजवादी मोर्चा घोषणाको तयारी भएको छ ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी भएको हो । विप्लवको पार्टी संसद् बाहिरको दल हो ।

नेकपा एसका नेता गंगालाल तुलाधारले शुक्रवार नै मोर्चाको घोषणा गर्ने तयारी भएको जानकारी दिए । ‘हामी सरकारमा पनि सहभागी छौं । यसमा मत मिल्नेबीच समाजवादी मोर्चा बनाएर जानेबारे अन्तिम गृहकार्य भएको छ’ तुलाधरले लोकान्तरसँग भने, ‘हाम्रो समाजवादीको पनि शुक्रवार बिहान बैठक डाकिएको छ । सम्भवतः शुक्रवार नै मोर्चा  गठन गरेर जानेसम्मको तयारी छ ।’

मोर्चामा आवद्ध हुने शीर्ष नेताले संयुक्त पत्रकार सम्मेलन गरेर मोर्चा गठनको जानकारी गराउने तुलाधर बताउँछन् । 

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले पनि समान मत भएका दलबीच तत्काल संयुक्त सहकार्य गर्ने तयारी भएको जानकारी दिए । ‘समाजवादी मोर्चाको लागि संयुक्त डकुमेन्ट बनिरहेको छ । यसको अन्तिम तयारी पनि भएको छ’ पोखरेलले भने, ‘माओवादीको केन्द्रीय कमिटीको बैठकपछि मोर्चा घोषणा गर्ने कि अगाडि नै गर्ने भन्नेमा प्रष्ट भइसकेको छैन । आवश्यक तयारी हुँदा छिट्टै घोषणा हुन पनि सक्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारमात्रै दाङ पुगेर मोर्चा घोषणा गर्ने तयारी भइरहेको बताएका थिए ।

समान एजेण्डा भएका दलबीच तत्काल पार्टी एकता सम्भव नहुँदा मोर्चा बनाएर सहकार्य गर्ने विकल्प भएको पोखरेल बताउँछन् । यो मोर्चामा तत्काल डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने तत्काल सहभागी नहुने भएको छ । नेता पोखरेलले भट्टराई र उपेन्द्र यादवको टसलले थप एक दल तत्काल मोर्चामा जोडिने सम्भावना कम रहेको बताए । यद्यपि भट्टराईलाई पनि समेट्ने प्रयास भइरहेको उनको भनाइ छ । 

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि ६ महिनादेखिको प्रयासले मूर्तरुप लिन लागेको जानकारी दिए । ‘कुराकानी भइरहेको छ । समाजवादी शक्ति, परिवर्तनकारी शक्तिलाई एउटै समाजवादी मोर्चामा आवद्ध गर्ने कुरा ६ महिनादेखि भइरहेको छ’ यादवले भने, ‘तर घोषणा गर्ने तयारी भए पनि आजै मितिको टुंगो लागिसकेको छैन ।’

३२ सिटको माओवादी, १२ सिटको जसपा, १० सिटको नेकपा एस र विप्लवको पार्टी एक ठाउँमा उभिए संसदमा यी दलको ५४ सिट पुग्नेछ । तत्काल कम्युनिस्टबीच एकता सम्भव नभएपछि मोर्चा बनाएर भए पनि बलियो हुने र एकतासम्म पुग्ने नीति दलहरूले लिएका हुन् । मोर्चा बन्दाको सत्ता गठबन्धनमा कांग्रेसलाईसमेत दबाब बढाउन सकिने विश्वास माओवादी, जसपा र नेकपा एसको रहेको बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्