आगामी भदौंमा प्रदर्शनमा आउने फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । छायांकन गर्ने क्रममा लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको हो । बालाजुस्थित चलचित्र विकास संस्थानमा बिहीवार गीतको छायांकन भइरहेको समयमा आगलागी भएको हो ।
कविराज गहतराजको कोरियोग्राफीमा अभिनेत्री वर्षा सिवाकोटी र १०० जना कोरसको नृत्य छायांकन भइरहेको समयमा आगलागी भएको जनाइएको छ ।
निर्माण पक्षका अनुसार आगलागीमा मानवीय क्षति नभएको र कपडैकपडाको सेट भने जलेर नष्ट भएको छ ।
सविन अधिकारी निर्देशित यो फिल्ममा मुकुन भुसाल र मेनुका प्रधानको शीर्ष भूमिका छ । आगलागीबारे विस्तृत विवरण भने आइसकेको छैन ।