काठमाडौं, २४ भदौ– शनिबार मध्याह्न नुवाकोटको खरानीटारमा भएको बस दुर्घटनामा घाइते भएका यात्रुको काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।
बा १ ख ६३४८ नम्बरको बस दुर्घटना हुँदा ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएकामध्ये १० जनालाई उपचारका लागि ग्राण्डी ल्याएकोमा एकजनाको बाटोमै मृत्यु भएको छ ।
काठमाडौंबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस शिवपुरी गाउँपालिका ७ मा पर्ने थानाभञ्याङमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतेभएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए ।
बस दुर्घटनामा घाइते भएकामध्ये धेरै जनाको ढाड र टाउको चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।