
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिमा प्रश्न सोध्न थालिएको छ ।
शुक्रवार बिहान शुरू भएको बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले आचरणविरुद्ध जाने न्यायाधीशहरूप्रति कसरी अगाडि बढ्नुहुन्छ भनेर प्रश्न गरेका छन् ।
उनले सोधेका छन्, ‘नागरिकहरूको न्यायपालिकाप्रतिको भरोसा कमजोर किन बन्यो ? जनआस्था बढाउन तपाईंको भूमिका के हुन्छ ? अदालतमा सजिला–अफ्ट्यारो दुवै प्रकृतिको मुद्दा हुन्छन्, प्रस्तावित प्रन्याज्यू क्रुसियल मुद्दामा आफूलाई असजिलो हुने मुद्दामा बेन्च छाडेर भाग्नुहुन्छ भन्ने आरोप छ ।’
उनले न्यायाधीश अभाव र ढिलासुस्तीबारे पनि प्रश्न गरेका छन् । ‘उच्च अदालतमा ४० जना न्यायाधीश अभाव छ, मुख्य न्यायाधीश ६ जना अभाव छ । सर्वोच्चमा ७ जना अभाव छ । सर्वोच्चमा मुद्दाको चाङ थपिनुमा तपाईंको भूमिका छैन ?’ उनले सोधे, ‘सिटिङ न्यायाधीशले आफ्नो नेतृत्वको बारेमा गोप्य उजुरीको बारेमा सार्वजनिक मिडियामा अन्तर्वार्ता दिनुभयो, आचरणविरुद्ध जाने न्यायाधीशहरूप्रति तपाईं कसरी अगाडि बढ्नुहुन्छ ?’
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सार्वजनिक निर्माणको काम भइराख्दा गैरकानूनी निर्णय भइरहँदा आम जनतालाई पीडा भइरहँदा अदालतले सरकारको पक्षमा किन फैसला नगरेको भनेर प्रश्न गरेका छन् ।
नेकपा एमालेका सांसद देवेन्द्र दाहलले भने, ‘तपाईंको कार्ययोजनामा संवैधानिक व्यवस्था भएको संसदीय सुनुवाइको औचित्यमाथि पनि प्रश्न उठाउनुभएकोमा त्यो प्याराग्राफ हटाउन अनुरोध गर्दछु ।’
‘एउटै प्रकृतिका मुद्दामा फरक–फरक नजिर छन् । यति घण्टाभित्रमा प्रधानमन्त्री नियुक्त गर्नु भनी परमादेश गरिएकोमा आगामी दिनमा फेरि यस्तै नजिर नदोहोरिने आधार के छ ?’ उनले सोधे, ‘गलत निर्णय गरेर जग्गा हड्पेको तथा ८ आना जग्गा लिई फैसला गर्नुभएको आरोप छ । वरिष्ठ अधिवक्ता दलीय रूपमा नियुक्त गरिएको र घुस नखुवाए पेशी नतोक्ने आरोप छ नि !’
एमाले सचेतक पदम गिरीले प्रश्न गरे, ‘लामो समयदेखि न्याय क्षेत्रमा लाग्नुभएको छ । तपाईंको नेतृत्वमा रहेका विकृति विसंगतिबारे दिएको प्रतिवेदन आफैं कामु प्रन्या भएको बेला कति कार्यान्वन गर्नुभयो ? नेतृत्व पाए इतिहास रच्छु भन्ने के आधार छ ?’
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्कीले सोधे, ‘तपाईं प्रन्यामा नियुक्त भएपछि सबैभन्दा कम कार्यकाल हुन्छ । तपाईंले प्रस्तुत गरेको कार्ययोजनामा मुद्दा फर्छ्यौटका विषयमा कसरी समाधान गर्नुहुन्छ ? उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयमा विवाद भएको देखिन्छ । ८ महिनाभन्दा बढी तपाईं कामु प्रन्या भइसक्नुभएको छ । सबै समस्या कसरी समाधन गर्नुहुन्छ ?’