२९ जेठ २०८३, शुक्रबार

तीनवटा मन्त्रालयको बजेटमाथिको छलफल सकियो

असार १, २०८०
काठमाडौं
तीनवटा मन्त्रालयको बजेटमाथिको छलफल सकियो

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट माथि छलफल सकिएको छ ।

आइतबार बिहान बस्ने प्रतिनिधिसभाको अर्को बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुने सभामुख देवराज घिमिरेले संसद्लाई जानकारी गराए । 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० माथिको मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद आस्माकुमारी चौधरीले भूमिहीन, सुकुम्बासीका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताइन् । आगामी आर्थिक वर्षको बजेटले भूमिहीन र सुकुम्बासीका लागि उल्लेख्य कुनै कार्यक्रम ल्याउन नसकेको उनको टिप्पणी थियो ।

सांसद मैना कार्कीले बजेट विनियोजनमा समानता नदेखिएको बताइन् । “समान अवसर, समान योजना, समान बजेट भएन । आगामी वर्षमा अध्ययन गरेर मात्रै बजेट विनियोजन गरियोस् । भेदभाव गरेर बजेट विनियोजन नगरियोस्”, उनले भनिन्। सहकारीको सही अभिलेख र नियामकीय क्षमता विस्तारका लागि ध्यान पुर्याउन जरुरी रहेको उनको भनाइ छ । 
सांसद शान्ति चौधरीले किसानको उत्पादन खरिद गर्ने वातावरण सरकारले मिलाउनुपर्ने बताइन् । बजार व्यवस्थापन गर्न नसक्दा किसानको उत्पादनले उचित मूल्य नपाउने र बेच्न नसकेर खेर जाने अवस्था रहेको उहाँको भनाइ छ । 

सांसद कुसुमदेवी थापाले आगामी आर्थिक वर्षको बजेटबाट पूर्वीरुकुम जिल्ला नै हराएको व्यङ्ग्य गरिन्। पूर्वीरुकुमको प्रशासनीय संयन्त्र अझै चुस्त भइनसकेको उनको भनाइ छ । विकास बजेटको ठूलो हिस्सा पहुँचवाला सांसदको जिल्लामा पठाउनु बजेट अनुशासनको गम्भीर उल्लङ्घन रहेको थापाको भनाइ छ ।

केही महत्वपूर्ण सडकखण्डका लागि निकै कम मात्र बजेट विनियोजन भएकाले त्यस्ता आयोजनाको कार्यान्वयनमा आशङ्का उब्जिएको धारणा सांसद अम्मरबहादुर रायमाझीले संसद्मा राखे । बजेटको प्राथमिकता के हो र कुन आयोजनालाई कार्यान्वयनमा शीघ्रता दिने भन्नेमा सरकार चुकेको सांसद रायमाझीको भनाइ छ ।

सरकारी स्वामित्वका उद्योग बन्द हुनुका कारणबारे अध्ययन गर्न र त्यस्ता उद्योग सञ्चालनका लागि सुझाव दिन संसदीय अध्ययन समिति गठन गरिनुपर्ने धारणा सांसद देवप्रसाद तिमिल्सेनाले राखे । गरिब नागरिकलाई रासनकार्डको व्यवस्था गरेर उनीहरुको खाद्यसम्बन्धी हक सुनिश्चितताका लागि उहाँले संसदमार्फत् सरकारलाई आग्रह गर्नुभयो । सत्तापक्ष र प्रतिपक्ष नभनिकन सन्तुलित बजेट ल्याउन सकेमात्र विकासका आवश्यकता पूर्ति गर्न सकिने सांसद तिमिल्सेनाको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटबाट प्रतिपक्ष मात्र सत्तापक्षका सांसद पनि असन्तुष्ट देखिएको सांसद महेशकुमार बर्तौलाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्