
खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन् ।
रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतिपातीको समयमा मलको चिन्ता हुने गर्छ ।
ललितपुर महानगरपालिकाको कृषि शाखा प्रमुख सावित्रादेवी पण्डितका अनुसार चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनीबाट महानगरले एक हजार तीन सय ६० बोरा युरिया मल र छ सय बोरा डिएपी मल प्राप्त गरेको छ । त्यसैगरी साल्डट्रेडिङमार्फत् महानगरले एक हजार पाँच सय ४० बोरा युरिया मल र तीन सय बोरा डिएपी मल प्राप्त गरेको छ ।
ललितपुर महानगरपालिकाको उपप्रमुखको संयोजकत्वमा कृषि सहकारी संस्थालाई वितरण गरिने मल खेतीपातीको समयमा किसानले पर्याप्तरुपमा नपाउँदा किसानको गुनासो धेरै सुन्नुपरेको कृषि शाखाकी प्रमुख सावित्रादेवी पण्डितले जानकारी दिइन् ।
उनले भनिन्, 'ललितपुर महानगरपालिकाको वडा नं १८ देखि २९ वडामा खेतीयोग्य जमिन छ र कसानले खेती गरिरहेका छन् । चालु आर्थिक वर्षमा हामीलाई उपलब्ध भएको रसायनिक मल सबै किसानलाई प्राप्तरुपमा वितरण गर्दा एक छेउमा पनि पुग्दैन ।'