
मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।
सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकोले आज बिहान अस्पताल भर्ना गरिएको उल्लेख छ ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ।’
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल आज बिहान पुनः अस्पताल भर्ना भएका थिए ।
यसअघि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) मा भर्ना भएका उनी गत बुधवार मात्र ‘डिस्चार्ज’ भएका थिए । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलवार गंगालालमा भर्ना भएका थिए ।
उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचारगरी फर्केका थिए ।
