०५ साउन २०८३, मंगलबार
खेलप्रेम

अन्तर्राष्ट्रिय क्रिकेट ‘स्टेडियम’ सपना : सरकारले नगरेको काम आँटेका कुँवर दम्पती

असार २, २०८०
बुटवल
अन्तर्राष्ट्रिय क्रिकेट ‘स्टेडियम’ सपना : सरकारले नगरेको काम आँटेका कुँवर दम्पती

मुलुकमा धेरैले देखेको तर आँट गर्न नसकेको ‘सपना’ पूरा गर्न रूपन्देहीका युवा दम्पती जुटेका छन् । नेपाली क्रिकेटले ३ दशक पूरा गरिसके पनि देशका लागि सरकारले निर्माण गर्न नसकेको महत्त्वाकांक्षी योजना अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पूर्वाधार बनाउने कार्य गुल्मीका विनोद कुँवर र सुदीक्षा गौतमको दम्पतीले रूपन्देहीमा शुरू गरेका हुन् ।

क्रिकेटको ‘हब’ मानिने रूपन्देहीमा झण्डै ५० करोड रूपैयाँको व्यक्तिगत लगानीमा निजी क्षेत्रबाट पहिलो अन्तर्राष्ट्रिय क्रिकेट ‘स्टेडियम’ निर्माण अघि बढेको छ । नेपालमा क्रिकेट एउटा खाली खेल मात्र नभई गौरव भइसकेको अवस्थामा खेल जगतमा केही गर्छु भन्ने आँटका साथ विनोद अघि बढेका छन् ।

आफ्नो ‘करिअर’ बनाउन ९ वर्षअघि अन्य नेपाली युवाहरू जस्तै विनोद पनि अस्ट्रेलिया हानिएका थिए । सानैदेखि क्रिकेट खेलका पारखी विनोदले विदेशमा  रहेको आफ्नो ‘अर्गनाइजेसन’को कमाइबाट देशका लागि आवश्यक पूर्वाधार बनाउन थालेका हुन् ।

देशका लागि अतिआवश्यक खेल पूवाधार बनाउन विनोदले शुरू गर्दा आशा र आशंका पनि व्यक्त भइरहेका छन् । कतै धुर्मुस–सुन्तलीले चितवनमा बनाउन थालेजस्तै त होइन भनेर धेरैको प्रश्न पनि सोधका छन् तर विनोद १ वर्षभित्र ‘स्टेडियम’मा क्रिकेट खेल्न मिल्ने गरी पूर्वाधार बन्नेमा ढुक्क छन् ।

‘लगानीका लागि सिड्नीमा मेरो एउटा अर्गनाइजेसन छ,’ विनोद भन्छन्, ‘त्यसका फ्रन्चाइजहरू छन् । त्यहाँबाट स्टेडियमका लागि आवश्यक रकम निस्किन्छ । १ वर्षका लागि ‘मिनिमम’ तयारी भइसकेको छ । पहिलो वर्षका लागि ग्राउन्ड तयार र भीआईपी प्याराफिट बनाउन बजेट सुनिश्चित भइसकेकाले शंका गर्नुपर्ने कुनै ठाउँ छैन ।’

सोमवार ४२ डिग्रीको तापक्रममा एक्स्ट्राटोल ओभर क्रिकेट मैदान रूपन्देहीको तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले शिलान्यास गरे । तिलोत्तमा–१७ मा पर्ने खेल मैदानका लागि विनोदले २ वर्ष अगाडि ५ विगाहा जग्गा किनेका थिए । विनोदले जग्गा मात्रै १० करोड रूपैयाँमा खरिद गरेका हुन् । 

३५ वर्षीया युवा विनोदले सिड्नीमा बिजनेश शुरू गरेको ३ वर्ष भयो । बिजनेशले ३ वर्ष राम्रो ‘सेफ’ लियो । देशका लागि के आवश्यक पर्छ भनेर उनी नियालिरहेका थिए । उनको चाहना क्रिकेट नै थियो । क्रिकेट स्टेडियम बनाउन धेरै प्रयासहरू पनि भए । ती प्रयासहरू सफल नहुँदा विनोदले आँट गरेका हुन् । 

गुल्मीको पुर्कोटमा जन्मिएका विनोदको बसोबास तिलोत्तमामा छ । उनी रूपन्देहीको लुम्बिनी इन्जिनीयरिङ कलेजमा आईटी पढेका हुन् ।

५ वर्षभित्र एकेडेमी सहितको आईसीसीबाट मान्यता प्राप्त स्टेडियम बनाउने विनोदको सपनाको देशवासीले प्रतीक्षा गरेर बसेका छन् । पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रंगशाला बन्नेछ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै २५ हजार दर्शक क्षमताको रंगशाला बन्ने विनोद बताउँछन् । निर्माण पूरा गर्दा झण्डै ५० करोड खर्च भेट्ने विनोदको अनुमान छ । एक्स्ट्रोल ओभल प्रालि र यसको निर्देशक विनोद हुन् । चिफ अपरेटिङ अफिसर सुदीक्षा हुन् । १ वर्षअघि मात्रै विवाह गरेका सुदीक्षा विनोदकी धर्मपत्नी हुन् ।

सुदीक्षासँग नवनिर्मित क्रिकेट रंगशालाको स्वामित्व रहेको छ । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी टे«निङ इन्स्टिच्यूट हो । यसको कार्यालयमा १५ जना कर्मचारी कार्यरत छन् । सिड्नीस्थित विनोदको टे«निङ इन्स्टिच्यूटको कमाइ खेल पूर्वाधारमा लगानी गर्न लागेको विनोदको भनाइ छ ।

null

विनोदले स्टेडियमको ब्रान्ड एम्बास्डर पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई बनाएका छन् । ‘क्रिकेट रंगशाला होस्टेलसहित एकेडेमी र ट्रेनिङ सेन्टर पनि हुनेछ,’ विनोद भन्छन् । उनका अनुसार रंगशाला कम्पाउन्डमा ४ तलाको भवन बनाई १०० जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ । यूएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटको जिम्मेवारी लिएका माधव पाठकलाई क्रिकेट मैदानको क्युरेटरको भूमिका दिइनेछ ।

‘म आईटीको विद्यार्थी भए पनि क्रिक्रेटको लभर पहिलादेखि नै हो । मैले क्रिकेट हेर्न थालेको नेपालले डिभिजन फाइभ हेर्दादेखि हो । भनेको लगभग २० वर्षभन्दा बढी भयो । आईटी शुरू गरेको ८–१० वर्ष भयो,’ विनोद भन्छन् । 

क्रिकेट खेलाडी उत्पादनका लागि उर्वर मानिएको रूपन्देहीमा निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरकै क्रिकेट मैदान बन्ने भएपछि क्रिकेटको विकास तथा खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा क्रिकेटप्रेमीले लिएका छन् । अहिलेसम्म उनले काम गर्दा कुनै बाधाहरू सिर्जना भएका छैनन् । निर्माण कार्य गर्दा अप्ठ्यारो सोचेका पनि छैनन् ।

विदेशमा बसेर नेपालमा लगानी गर्न दिँदैनन् वा राम्रो छैन भन्नेहरूलाई होइन, काम गर्न सजिलो छ भन्ने कुरा खोजेका पनि हुन् उनले । स्टेडियममा विनोद र उनको परिवारबाट काम हुनेछ । ‘फ्रो लाइट ल्याउन सरकारले भन्सार छुट र लोडरहरू किन्दा पनि भन्सार छुट दिए हुन्छ, अरु हामी आफैं गर्छाैं,’ विनोदले भने, ‘हामी पोखरा, लुम्बिनी, माउन्ट एभरेस्ट घुमाउनेलाई मात्र टुरिज्म भन्दै आएका छौं तर त्योभन्दा ठूलो कुरा स्पोट्र्स हो । जस्तैः कतारले आफ्नो देश विकास भएको कुरा देखाउन कही जानुपर्दैनथ्यो । उसले फेरि वर्ल्डकप अर्गनाइज गर्‍यो ।’ त्यसैले संसारभरका पर्यटक आकर्षित गर्न र आफ्नो देशलाई चिनाउन स्पोट्र्सको सबैभन्दा ठूलो भूमिका हुने विनोदको भनाइ छ ।

‘अहिले पनि हेर्‍यौं भने अमेरिकी राष्ट्रपतिभन्दा क्रिस्टिनो रोनाल्डो, मेस्सीका फ्यान अथवा कुनै क्रिकेटरका फ्यान बढी हुन्छन्, त्यसको नामले देश चिनिन्छ,’ उनी भन्छन् । त्यही भएर मेजर भनेको स्पोर्टस् नै रहेको विनोद बताउँछन् ।

‘हामीले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल खेलाउन सक्यौं भने, यहाँ खेलाडी आए भने देशलाई चिन्छ । त्यसैले खेलमा सबैभन्दा बढी पर्यटनको ठाउँ रहेको छ,’ उनले भने । उनले रूमका पछाडि ३ वटा ड्रिम प्रोजेक्ट भनेर राखेका छन् । पहिलो – क्रिकेट स्टेडियम, दोस्रो – हस्पिटल र तेस्रो – आईटी कलेज ।

क्रिकेट रंगशाला बनाएर सकेपछि उनी अन्य प्रोजेक्टहरू बनाउने योजनामा छन् । एकेडेमीमा दक्ष खेलाडीहरू उत्पादन गरेर अन्य देशका व्यावसायिक प्रतिस्पर्धामा खेलाउने योजना पनि विनोदको छ ।

नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान विकल्पविहीनजस्तै छ । मैदान पनि कामचलाउभन्दा गतिलो छैन । अब केही वर्षपछि रूपन्देहीमै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको देख्न पाइने विनोदको बताउँछन् ।

‘अस्ट्रेलियामा मैलेभन्दा बढी कमाउने नेपाली २–३ हजार छन्,’ विनोद भन्छन्, ‘पैसा भएर प्रोजेक्ट गरेको नभई यतिको प्रोजेक्ट धान्न सक्छु भन्ने भएर मात्र काम स्टेडियम बनाउन लागेको हुँ । मैले त्यहाँ बेसिक कुरा नगरेर लगानी नेपाल ल्याएको हुँ । महंगो गाडी किनेर हिँड्ने मन मलाई पनि छ । देशका लागि एउटा राम्रो काम गरौं भनेर लागेको हुँ । विदेशमा भए पनि देशमै आउनुहोस् र केही गर्नुहोस् भन्न चाहन्छु ।’

उनले कोरोना महामारीको समयमा विभिन्न स्वास्थ्य उपकरण, आफ्नो गाउँमा शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा पनि लाखौं रुपैयाँ सहयोग गरेका थिए । क्रिकेटलाई शिखरमा पुर्‍याउन पूर्वाधारमा लगानी गर्नुपर्ने विनोदको सुझाव छ । 
 

salt training

कमेन्ट गर्नुहोस्