
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशप्रति समर्पित राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन्।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित एक कार्यक्रममा उनले इमानदारिताका साथ देशप्रति समर्पित र जनतालाई सुखी बनाउन सक्ने राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताए ।
“हामी एउटा राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौं, जो देशप्रति समर्पित होस् र त्यसले मुलुकको चौतर्फी विकास, सुरक्षा तथा न्याय प्रदान गर्न सकोस्”, उनले भने । अध्यक्ष ओलीले कसैले पनि पराजित गर्न नसक्ने खालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताए । उनले निष्ठा र इमानदारिताका साथ सक्रिय भइ जनताको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
उनले एमाले सबैका लागि एउटै परिवार जस्तो भएकाले योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने बताए । पार्टीमा चाकडी नचल्ने स्पष्ट पार्दै उनले कामका आधारमा मूल्याङ्कन हुने दाबी गरे । “कसले कति चाकडी गर्छ भन्ने कुरा पार्टीमा हुँदैन । कामको मूल्याङ्कनबाट आएको पार्टी हो”, उनले भने, “यो आदेशबाट नियुक्त र बर्खास्त गर्ने पार्टी पनि होइन । एमालेले भन्ने बेलामा एउटा र गर्ने बेलामा अर्को काम गर्दैन ।”