१० साउन २०८३, आइतबार

प्रगतिशील चिकित्सक सङ्घको नेतृत्वमा डा बस्नेत

असार २, २०८०
काठमाडौं
प्रगतिशील चिकित्सक सङ्घको नेतृत्वमा डा बस्नेत

नेपाल प्रगतिशील चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनले डा मधुर बस्नेतको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आज सम्पन्न सम्मेलनले १५ बुँदे घोषणापत्रसमेत जारी गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा डा कुम्भराज जोशी, उपाध्यक्षहरूमा बागमतीबाट डा अमृत भुसाल, गण्डकीबाट डा दिनेशकुमार विक, लुम्बिनीबाट डा राजन पाण्डे, कर्णालीबाट डा राजवीर सुनार, सुदूरपश्चिमबाट डा मोहनाथ योगी, मधेसबाट डा नौसाद हक चुनिएका छन् ।

यसैगरी महासचिवमा डा मधु न्यौपाने, उपमहासचिवमा डा भागवत भट्टराई र डा चेतन बस्नेत, सचिवमा डा जनकबहादुर थापा र कोषाध्यक्षमा डा सकुन्तलाकुमार गुप्ता चुनिए । सम्मेलनले डा बुद्धिबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

सम्मेलनको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले उद्घाटन गर्नुभएको थियो । सम्मेलनलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्वास्थ्य विभागका इन्चार्ज, कल्पना धमला, माओवादी केन्द्रका केन्द्रीय सदस्य ईश्वरी भट्टराई, भरतपुर महानगर प्रमुख रेनु दाहाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहाल, कञ्चन खनाललगायतकाले सम्बोधन गरेका थिए ।

सम्मेलनले जारी गरेको घोषणापत्रमा समाजवाद केन्द्रित राज्यको स्वास्थ्य नीति हुनुपर्ने र सोहीअनुरूप कार्यान्वयन गरिनुपर्ने माग गरिएको छ । घोषणापत्रमा स्वास्थ्यमा शून्य भ्रष्टाचार सुनिश्चित गरिनुपर्ने, संविधानले प्रत्याभूत गरेको आधारभूत र आकस्मिक स्वास्थ्य निःशुल्क हुने कुरा व्यवहारमा सुनिश्चित गरिनुपर्ने, सोको निम्ति सोहीअनुसार बजेट, साधन, स्रोत र जनशक्तिको व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

घोषणापत्रमा भनिएको छ, “स्वास्थ्य बीमालाई सामाजिक सुरक्षाको प्रतिविम्बका रूपमा ७७ जिल्लामै पुनर्संरचनासहित विस्तार गरिनुपर्छ । “जनतासँग अस्पताल’ अवधारणाअन्तर्गत प्रवर्द्धनात्मक स्वास्थ्यलाई जोड दिँदै जनताको घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध हुने गरी व्यवस्था गरिनुपर्छ ।”

salt training

कमेन्ट गर्नुहोस्