२९ जेठ २०८३, शुक्रबार
महानगरको नयाँ निर्णयको प्रभाव

गाडी चढ्न र झर्न नयाँ बसपार्क नै पुग्नुपर्ने व्यवस्था : यात्रुको खर्च र सास्ती दुवै बढ्यो [भिडियो]

असार ६, २०८०
काठमाडौं

धनुषाका मस्त इक पहिलोपटक काठमाडौं आउँदै थिए । वैदेशिक रोजगारीमा जाने शिलशिलामा काठमाडौं आएका उनको योजना गौशाला बस्ने थियो । उनलाई भनिएको थियो, ‘गाडीले गौशालामै छोडिदिन्छ ।’ तर, उनको योजनाअनुसार गाडी अघि बढेन । गाडीले सबै यात्रुलाई गोंगबुस्थित नयाँ बसपार्कमा झारिदियो । ‘म धनुषाबाट आएको हो । आउनुपर्ने गौशाला थियो, तर बसले नयाँ बसपार्कमै छोडिदियो,’ गौशालामा भेटिएका उनले भने, ‘के नयाँ नियम बनाएछन् कुन्नि ?’

काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर आउजाउ गर्ने सार्वजनिक यातायातका साधन नयाँ बसपार्कबाट मात्रै सञ्चालन हुने नियम बनाएपछि उनलाई बसपार्कमै झारिएको हो । असार १ गतेबाट लागू भएको नयाँ नियमअनुसार उपत्यकाबाहिर चल्ने सवारी साधन बसपार्कबाट मात्रै छुट्छन् र आएर त्यहीँ रोकिन्छन् । 

नयाँ नियमले खर्च बढेको उनले गुनासो गरे । ‘धनुषाबाट काठमाडौं आउँदा ८ सय भाडा लाग्यो,’ उनले भने, ‘गोंगबुबाट गौशाला ट्याक्सीमा आउँदा पाँच सय तिर्नुपर्‍यो, सिधै गौशाला झर्न पाएको भए मेरो पाँच सय जोगिन्थ्यो ।’ 

धनुषाको ढल्केबरबाट आएका दुगार महतोले पनि नयाँ नियमले झन्झटसँगै खर्च थपेको गुनासो गरे । कोटेश्वर बस्ने उनले ढल्केबर जान बसपार्क पुगेर पुनः कोटेश्वर हुँदै जाने व्यवस्था झञ्झटिलो भएको बताए ।

‘कोटेश्वरबाट सिधै बनेपा हुँदै ढल्केबर पुगिन्छ,’ उनले भने, ‘गाउँ जान कोटेश्वरबाट बसपार्क पुगेर फेरि कोटेश्वर हुँदै जानुपर्छ, यो व्यवहारिक छैन ।’

मस्त इक र दुगार महतो मात्रै होइन, महानगरले लागू गरेको नयाँ नियमप्रति उपत्यकाबाहिर आउजाउ गर्ने धेरै यात्रु सन्तुष्ट छैनन् । नयाँ नियमले अनावश्यक दु:ख र खर्च थपिएको उनीहरूको गुनासो छ । 

महानगरको नयाँ निर्णयसँगै बस व्यवसायीहरू पनि सन्तुष्ट छैनन् । महानगरले हचुवाको भरमा नयाँ नियम ल्याइएको उनीहरू बताउँछन् ।

null

गौशालामा ओम साइराम यातायातको टिकट काउन्टर सञ्चालन गर्ने रविन कार्कीले महानगरले हचुवाको भरमा नयाँ नियम ल्याएको बताए ।

‘हचुवाको भरमा गरिएको निर्णयका कारण व्यवसायीलाई दुःख भएको छ,’ उनले भने, एउटा व्यापारीलाई पोस्न धेरैको रोजीरोटी गुम्ने खतरा छ । बसपार्कका र यातायात महासंघका केही बिचौलियाको फाइदाका लागि महानगरले यो निर्णय गरेको हो ।’ 

महानगरले सरोकारवाला र सेवाग्राहीसँग समन्वय गरेपछि मात्र नयाँ निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

‘कोटेश्वर, भक्तपुर, थानकोटको मान्छे टिकट काट्नदेखि बस चढ्न र झर्न पनि बसपार्क जानुपर्दा उनीहरूले सास्ती खेप्नु परेको छ,’ उनले भने, ‘यात्रुको खर्च पनि बढेको छ ।’

नयाँ नियमले बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिलाई मात्रै फाइदा हुने कतिपयको तर्क छ ।

यसअघि धादिङ, नुवाकोट, रसुवा, गोरखाजस्ता क्षेत्रमा जाने बस बालाजु क्षेत्रबाटै सञ्चालन हुने गरेका थिए भने दोलखा, रामेछाप, सिन्धुपाल्चोकलगायत भेगका बसहरू कोटेश्वरबाट चल्ने गरेका थिए ।

यस्तै कलंकी, चाबहिल, बल्खु, स्वयम्भुलगायतका स्थानबाट पनि देशका विभिन्न स्थानमा जाने बसहरू छुट्ने गरेका थिए । अब उनीहरू सबैलाई बसपार्क आउनुपर्ने भएको छ ।

कोटेश्वर, बानेश्वर, चाबहिल, गौशाला ओर्लिने मान्छे ओर्लिन बसपार्क नै पुगिदिनुपर्ने व्यवस्था व्यावहारिक नभएको यात्रुको गुनासो छ ।

कतिपयले भने चोकमा हुने तानातान रोकिने तथा काउन्टरमा अतिरिक्त पैसा बुझाउनुनपर्ने भन्दै निर्णयप्रति सन्तुष्टि पनि जनाएका छन् ।

 

 

salt training

कमेन्ट गर्नुहोस्