
कुनै पनि पार्टीको जीवनमा महाधिवेशन भनेको सबैभन्दा ठूलो कार्यक्रम हो । महाधिवेशनले नेता मात्रै बदल्दैन, कस्तो नीति अख्तियार गर्ने भन्ने निर्क्यौल पनि गर्छ ।
बदलिँदो समयमा कस्तो नीतिले पार्टीलाई हित गर्छ त्यसलाई हेर्दै युग सुहाउँदो कार्यक्रम बनाउने ठूलो मेला पनि हो, महाधिवेशन ।
तर, देशकै ठूलो, पुरानो र आफूलाई लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेसले १४ औं महाधिवेशनमा नेता मात्र चुन्यो । नीतिगत बहसलाई तत्कालका लागि स्थगित गरियो ।
नीतिगत छलफल नभएपछि केही समयमा नै नीति महाधिवेशन गर्ने भन्दै महाधिवेशनले नेता मात्रै चयन गर्यो । यसरी नेता चयनको डेढ वर्ष बित्दा पनि अझै नीति महाधिवेशन कहिले गर्ने भन्ने टुंगो लागेको छैन ।
कांग्रेसमा २०७८ मंसिरमा राजनीतिक, सांगठनिक सहितका सैद्धान्तिक प्रतिवेदन नै प्रस्तुत भएको थिएन ।
६ महिनाभित्र नीति महाधिवेशन गर्नेमा सहमति जुटेपछि नेताहरू नेतृत्व परिवर्तन गरेर महाधिवेशन सकाउन सहमत भएका थिए ।
६ महिनामा गर्ने भाका, डेढ वर्षसम्म पनि अलमल
१३ औं महाधिवेशनसम्म नेता चयनमा मात्रै सबै ध्यान खिचिँदा नीतिगत विषय छायाँमा पर्दै आएका थिए । त्यसैले नीतिगत छलफललाई पछि सार्ने बहाना मिल्यो ।
तर, तत्कालको बहानाले टरेको नीति महाधिवेशन अझैसम्म अन्योलमा छ । पार्टीमा माग हुँदै आए पनि डेढ वर्षसम्म नीति महाधिवेशन गर्नेबारे कुनै तयारी समेत भइरहेको छैन ।
कांग्रेस नेता प्रदीप पौडेल नियमित महाधिवेशनले स्वीकार गरेको कार्यक्रम समयमा गर्दा पार्टीकै हित हुने बताउँछन् ।
‘नीति कार्यक्रममा नेतृत्वको विषय उठ्दैन, नीतिगत र सैद्धान्तिक विषयमा कम्तीमा प्रतिवेदन प्रस्तुत हुन्छ । एउटा ठूलो कार्यक्रम गर्न सकेको सन्देश पनि नेतृत्वले दिन सक्छ,’ पौडेल भन्छन्, ‘तर, कांग्रेसमा देखिएका खास समस्यालाई नीति महाधिवेशनले सम्बोधन गर्दैन ।’
नेतृत्वले कात्तिकसम्म नीति महाधिवेशन गर्न सक्ने उनी बताउँछन् । तर, कांग्रेसमा यो बेला कम्तीमा महासमिति बैठक बोलाए पनि ठूलो कुरा हुने पौडेल बताउँछन् ।
‘पहिले–पहिले सभापतिहरूले कम्तीमा कार्यकालको बीचमा एउटा महासमिति बैठक गर्थे । अहिले पार्टीसामु देखिएका समस्यालाई समाधानको बाटोमा लान कम्तीमा महासमिति बैठक बसे पनि त्यहाँ पार्टीले तत्काल प्रभावकारी कार्यक्रम बनाउन सक्थ्यो,’ पौडेलले भने ।
अब कहिले होला नीति महाधिवेशन ?
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा डेढ वर्ष नै ढिलाइ भइसकेकाले अब दशैंअगाडि नै नीति महाधिवेशन हुने बताउँछन् ।
‘महाधिवेशनमा नेतृत्व चयन गर्दा नीतिगत बहस छायाँमा पर्छ र समय पनि अभाव हुन्छ भनेर पछि गर्नेमा सहमति जुटेको थियो,’ विश्वकर्मा भन्छन्, ‘६ महिनामा गर्ने भनियो, तर एक वर्ष ६ महिना पनि नाघिसकेको छ । अब असारमा केन्द्रीय समिति बैठक बसेर आवश्यक तयारी गर्ने र दशैंअगाडि नीति महाधिवेशन गर्ने कुरा भइरहेको छ ।’

नीति महाधिवेशनले पार्टीको चुनौती केलाउने, वैचारिक र नीतिगत रूपमा प्रस्ट हुने, अन्य पार्टी र विदेशीसँगको सम्बन्ध, सामाजिक आर्थिकसहितका दृष्टिकोण प्रस्ट पार्ने विश्वकर्मा बताउँछन् ।
विधानतः महाधिवेशन भएको र हुने वर्ष बाहेक कम्तीमा एकपटक महासमिति बैठक बस्नुपर्ने भएकाले कांग्रेसमा महासमिति बैठकको समेत माग भइरहेको छ ।
तर, प्रचार विभाग प्रमुख विश्वकर्मा नीति महाधिवेशन र महासमिति बैठकजस्ता ठूला कार्यक्रम एकै वर्ष नहुने बताउँछन् ।
‘नीति महाधिवेशनमा पनि सबै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य सहभागी हुनुहुन्छ । एकैपटक ठूला दुई कार्यक्रम जरुरी छैन भन्ने हो,’ विश्वकर्मा भन्छन्, ‘दुवै गर्नुभन्दा नीति महाधिवेशन मात्रै गरेर जाने कि भन्ने भएको छ ।’
होला विशेष महाधिवेशन ?
नेतृत्वमा आएका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक नबोलाएको नै एक वर्ष पुग्न लागेको छ । तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी अहिलेकै अवस्थामा चल्न नसक्ने बहस गराइरहेका छन् ।
नेतृत्व बदलिन तयार नभए विशेष महाधिवेशनसम्म पनि पुग्नुपर्ने उनीहरूको आशय छ । तर देउवा नेतृत्वमा दोहोरिएको डेढ वर्षमात्रै भएको छ । यस्तोमा नियमित ४ वर्षमा मात्रै महाधिवेशन भए पनि उपलब्धि मान्नुपर्ने युवा नेता पौडेल बताउँछन् ।
‘माग हुनु एउटा विषय हो, तर यो अवस्थामा विशेष महाधिवेशन हुने कुरा व्यावहारिक रूपमा सहज देखिँदैन,’ पौडेल भन्छन्, ‘भावी चुनौतीलाई सामना गर्ने र अगाडिको बाटो प्रभावकारी रूपमा तय गर्ने हो भने महाधिवेशन चार वर्ष नपुगी वा केही समय अगावै गर्न सकिए यसैलाई ठूलो उपलब्धि मान्नुपर्ने बताउँछन् ।’
प्रचार विभाग प्रमुख विश्वकर्मा अर्ली र विशेष महाधिवेशनको माग अर्को महाधिवेशनमा पद हत्याउने दाउ मात्रै भएको टिप्पणी गर्छन् ।
‘अर्ली र विशेष महाधिवेशन नेतृत्व विकासमा तयार हुने नेताका भाषण हुन् । १३ औं महाधिवेशनमा यस्तै राग अलाप्नेले १४ औं मा चुनाव जिते,’ विश्वकर्मा भन्छन्, ‘१४ औं महाधिवेशनपछि फेरि यस्तो आवाज उठाउनेले अर्को महाधिवेशनमा जित्न सकिन्छ कि भनेर प्रयास गरेका हुन् ।’
गुरु घिमिरे, मधु आचार्य, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, डा. गोविन्द पोखरेल, जगदीश्वरनरसिंह केसीसहितका नेताले पार्टी रुपान्तरणको कार्यक्रम सातवटै प्रदेशमा गरिसकेका छन् ।
नयाँ दलको चुनौती बढेको र नागरिकका अपेक्षालाई पूरा गर्न नसक्दा पार्टीप्रति चरम निराशा रहेको भन्दै उनीहरूले पार्टी रूपान्तरणका लागि दबाब बढाउन अभियान गरेका हुन् ।
यो अभियानमा उठेका विषयलाई प्रतिवेदन बनाएरै पार्टीलाई बुझाउने उनीहरूको तयारी छ । पार्टी नेतृत्व नागरिकसँगको सम्बन्धबाट टाढिएको भन्दै यस्तै भइरहे आगामी चुनाव झन् बढी चुनौती हुने यो अभियानका नेता भुपेन्द्रजंग शाही बताउँछन् ।
यसैले नागरिकसँग जोडिने गरी नीति तथा कार्यक्रम तय गर्नुपर्ने उनको सुझाव छ ।