२५ जेठ २०८३, सोमबार

होन्डुरसको महिला कारागारमा झडप, ४१ जनाको मृत्यु

असार ६, २०८०
काठमाडौं
होन्डुरसको महिला कारागारमा झडप, ४१ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

मध्य होन्डुरसको महिला कारागारमा भएको हिंसामा परी ४१ जना कैदीको मृत्यु भएको छ ।

सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतकलाई जलाइएको छ भने अन्यलाई गोली लागेको छ ।

मोराका अनुसार अनुसन्धानकर्ताहरूले राजधानी तेगुसिगाल्पा नजिकैको तमारामा रहेको सुधार केन्द्रको अवलोकनपछि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

होन्डुरसका सुरक्षा उपमन्त्री तथा होन्डुरस पेनिटेन्टरी सिस्टमका प्रमुख जुलिसा भिल्लानुएभाले पत्रकार सम्मेलनमा भने, ‘मानवीय क्षतिबाट हामी मर्माहत भएका छौं । हाम्रो देशको दण्ड प्रणालीलाई संगठित अपराधले ‘अपहरण’ गरेको छ ।’

होन्डुरसमायस्तै घटना सन् २०१९ मा पनि भएकोे थियो, जहाँ २ पुरुष जेलमा भएको झडपमा गिरोहका ४० सदस्यको मृत्यु भएको थियो ।

न्युयोर्क टाइम्सका अनुसार मंगलवार मृत्यु हुनेको संख्याले मध्य अमेरिकी देशको जेलमा भएको यो सबैभन्दा घातक दंगा हो । हालैका वर्षहरूमा महिला कारागारमा हत्याका घटनाहरू बढेका छन् । होन्डुरसमा २ प्रतिद्वन्द्वी आपराधिक संगठनहरू, ‘एट्टिन्थ स्ट्रिट’ गिरोह र एमएस–१३ गिरोहका महिला सदस्यहरूबीचको मुठभेडको क्रममा धेरै कैदीहरूको घाँटी थिचेर हत्या गरिएको छ वा छुरा प्रहार गरिएको छ ।

राष्ट्रपति सिओमारा क्यास्ट्रोले घटनाबाट आफू स्तब्ध भएको बताउँदै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउन कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।

उनले ट्वीटरमा लेखेका छन््, ‘कानून कार्यान्वयन गर्ने अधिकारीहरूको पूर्ण दृष्टिमा गिरोहहरूले दंगाको योजना बनाएका थिए ।’
 
‘ह्युमन राइट्स वाच’ले सन् २०२१ मा होन्डुरसबारे तयार पारेको एउटा प्रतिवेदनमा भनिएको थियो, ‘जेलमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, सरसफाइको कमी, कुटपिट, अन्तरगिरोह हिंसा र कैदीहरूको हत्याहरू व्याप्त छन् ।’

द न्युयोर्क टाइम्सका अनुसार होन्डुरसको सामाजिक अनुकूलनका लागि राष्ट्रिय महिला कारागारमा करीब ८०० कैदीबन्दी रहेका छन् । सन् २०२० मा ‘इन्टर अमेरिकन कमिसन अन ह्युमन राइट्स’ले होन्डुरसका जेलहरूमा महिलाहरूको सुविधासहित ‘धेरै हिंसात्मक घटनाहरू’ रेकर्ड गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्