
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
बुटवल उपमहानगरपालिकाको १३ औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले छाडा चौपाया व्यवस्थापनको लागि गाई राष्ट्रिय निकुञ्ज निर्माणदेखि भैँसीका पाडा वितरण गर्नेसम्म योजना अघि सारेका छन् ।
नवलपरासीको बर्दघाटदेखि प्रदेश राजधानी दाङसम्मका सडकमा रहेका छाडा पशु चौपायाहरू व्यवस्थापनको २ हजार विगाहा क्षेत्रमा गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकारसँग समन्वय गर्ने नगर प्रमुख पाण्डेयले बताए ।
दुध उत्पादन वृद्धि गरी बुटवललाई दुग्ध उत्पादनमा अग्रणी बनाउन किसानलाई ५० प्रतिशत लागत सहभागिताका आधारमा भैँसीका पाडा वितरण गर्ने पाण्डेयले बताए ।
३०२ वटा बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलाहरूलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलको रुपमा विकसित गर्ने, रात्रिकालीन बजार सञ्चालन गर्ने उल्लेख छ ।
‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ भन्ने दीर्घकालीन सोचलाई अगाडि सारेको बुटवलले बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने र सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अबलम्बन गरिने प्रमुख पाण्डेयले बताए ।
शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरू र अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन शुरु गर्ने नीति बुटवलले ल्याएको छ ।
नगर प्रमुख पाण्डेयले बुटवलको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि स्वास्थ्य उपचार र जनशक्ति उत्पादनमा जोड दिएको बताउँदै सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा नगरप्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताए ।