२७ असार २०८३, शनिबार

समाचार प्रभाव : सिर्जना सामुदायिक वनका अध्यक्षविरुद्ध मुद्दाको तयारी

असार १२, २०८०
काठमाडौं
समाचार प्रभाव : सिर्जना सामुदायिक वनका अध्यक्षविरुद्ध मुद्दाको तयारी

मोरङको बेलबारी नगरपालिका–११ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिका निवर्तमान अध्यक्ष छत्र लिम्बूले आर्थिक अनियमितता गरेको आरोपमा डिभिजन वन कार्यालय मोरङले अदालतमा मुद्दा दर्ता गर्ने तयारी शुरू गरेको छ । 

लिम्बूले १७ लाख ५५ हजार मूल्य बराबरको ९५५ क्यूफिट काठ अनियमितता गरेको ठहर गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दर्ताको तयारी गरिएको छ ।

लोकान्तर डट्कमले असार ६ गते ‘मोरङको सिर्जना सामुदायिक वनमा लाखौं अनियमितता, उपभोक्ताको नाममा बिल बनाएर अध्यक्षले बेचे काठ’ शीर्षकमा समाचार प्रकाशित भएपछि डिभिजन वन कार्यालयलाई दबाब परेको थियो । डिभिजनले समाचार आएपछि मात्रै चासो दिएको छ । 

लिम्बू नेपाली कांग्रेस बेलबारीका नगर सभापति समेत हुन् । लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थाको नाममा कीर्ते कागजात बनाई काठ बेचेको छानबिनका क्रममा खुलेका थियो । अध्यक्षले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी परेपछि आयोगको कार्यालयले डिभिजन वन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो ।

डिभिजन वन कार्यालयले सबडिभिजन वन कार्यालय कानेपोखरीका वन अधिकृत अलाउद्दीन अन्सारीलाई अनुसन्धानका लागि खटाएको थियो । 

डिभिजन वन कार्यालयले सबडिभिजन वन कार्यालय बेलबारीका अधिकृत दीपेश मिश्रलाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिएर मुद्दाको प्रक्रिया थाल्न भनेको छ ।  

‘जिल्ला सरकारी वकिलको कार्यालयसँग राय लिने काम भइरहेको छ,’ डिभिजन वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले भने, ‘अनुसन्धानपछि अभियोजन बनाएर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोग लैजानेछौं ।’

अनियमितताको आरोप लागेका लिम्बूलाई डिभिजन वन कार्यालयले हाजिर जमानीमा राखेको छ । उनीविरुद्ध वन पैदावार अनियमितता गरेको कसूरमा अदालतमा अभियोगपत्र लैजाने तयारी गरिएका डिभिजन वन कार्यालय जनाएको छ । 

केही हप्ताअघि मात्रै साधारणसभा गरेर उनले नेतृत्व हस्तान्तरण गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्