
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदैछन् ।
आजदेखि पाँच दिनसम्म चीनको सिचुवान प्रान्तको भ्रमणमा रहने श्रेष्ठ नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डल राति ११ः २० को उडानमार्फत त्यसतर्फ प्रस्थान गर्नेछ ।
छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भई बुधवार उनी ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सरिक हुनेछन् ।
उपप्रधानमन्त्री श्रेष्ठले बिहिवार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् भने दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र अन्तराष्ट्रिय मित्र शहर सिचुवानको भ्रमण एवं प्रदर्शनी अवलोकन गर्नेछन्।
यस्तै सोही दिन साँझ उनी चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सरिक हुनेछन् ।
उपप्रधानमन्त्री श्रेष्ठले शुक्रवार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नेछन् भने त्याहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन मन्तव्य समेत दिनेछन् ।
त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नेछन् । दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्नेछन् ।
शनिवार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नेछन्। दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नेछन् ।
शनिवार नै छेन्दु फर्किएर आइतवार बिहानको उडानमार्फत बिहान ११ः१० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् ।
प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत सहभागी छन् ।