०३ असार २०८३, बुधबार

वैदेशिक रोजगारमा गएकामध्ये १ वर्षयता २८ जनाको मृत्यु

असार १३, २०८०
नवलपुर
वैदेशिक रोजगारमा गएकामध्ये १ वर्षयता २८ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १ वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ ।

चालू आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका २८ जनाले ज्यान गुमाएका हुन् ।

वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष २७ पुरुष र १ महिलाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ । ज्यान गुमाउनेमा देवचुलीका ७, कावासोतीका ६, मध्यविन्दुका ६, गैंडाकोटका ४, विनयी त्रिवेणीका ३ र हुप्सेकोटका १ जना छन् ।

अत्यधिक समय काम गर्ने, भनेजस्तो नहुँदा तनावमा काम गर्ने लगायत कारणले ज्यान गुमाउने गरेको पाइएको कार्यक्रमका परामर्शदाता रञ्जना लम्सालले बताइन् । अत्यधिक रकम खर्चेर विदेश जाँदा धेरै आम्दानी गर्ने दबाबका कारण लगातार काम गर्दा कतिपय घटना हुने गरेको उनले बताइन् ।

संयोजक सोतीका अनुसार १ वर्षमा वैदेशिक रोजगारसम्बन्धी नवलपुरमा १८८ मुद्दा दर्ता भएका छन् । तथ्यांक अनुसार ठगीमा पर्नेको संख्या सबैभन्दा बढी छ । १८८ मध्ये ११८ मुद्दा ठगी सम्बन्धी रहेका छन् । उद्धारसम्बन्धी ३०, मृत्युका ३० र अन्य प्रकृतिका १० मुद्दा १० छन् । 
 
सुरक्षित आप्रवासन कार्यक्रममार्फत दर्ता भएकामध्ये ८१ मुद्दाको समाधान गरिएको र यसबाट पीडितलाई ३ करोड २० लाख ६० हजार क्षतिपूर्ति उपलब्ध गराइएको संयोजक सोतीले बताए । जिल्लामा सञ्चालित कार्यक्रममार्फत सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्