
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको कार्यक्रममा उनले बरको बिरुवा रोपेका हुन् ।
अध्यक्ष ओलीले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्दै वृक्ष र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए ।
एमालेले आज देशभरि भण्डारीको ७२औं जन्मजयन्ती मनाउँदै छ । दिउँसो राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम हुँदैछ ।

विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा भण्डारीको जन्म भएको हो ।
एमालेले साताव्यापी रुपमा भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । उनको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा निधन भएको थियो ।