०६ साउन २०८३, बुधबार

सिञ्जा गाउँपालिकालाई पर्यटकीय ‘हब’मा विकासित गर्न पर्यटन क्षेत्रको प्रवर्द्धन गरिने

असार १४, २०८०
काठमाडौं
सिञ्जा गाउँपालिकालाई पर्यटकीय ‘हब’मा विकासित गर्न पर्यटन क्षेत्रको प्रवर्द्धन गरिने

जुम्लाको सिञ्जा गाउँपालिकाले पर्यटन क्षेत्रलाई  विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजित गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

खस भाषाको जन्मथलोसमेत रहेको सिञ्जालाई पर्यटकीय ‘हब’मा विकासित गर्नेका लागि पालिकाभित्रका लुकेका पर्यटन क्षेत्रलाई थप प्रवर्द्धनका लागि पूर्वाधार निर्माण गाउँपालिकाले नीति अवलम्बन गरेको छ । उनले भने,“पर्यटन बोर्डसँग सहकार्यमा खस रीतिरिवाज र संस्कृति समेटको खस ‘क्यालेण्डर’ निर्माण गरी कार्यान्वयनमा ल्याउने नीति गाउँपालिकाले लिएको छ । खस भाषाको सभ्यता अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्न सङ्घीय सरकारसँग पहल गरिने छ ।” 

सिञ्जाको इतिहास अभिलेखिकरण र पालिकाको वडा नं ३ स्थित राइके पाखोमा सिञ्जा राज्यको प्रभाव क्षेत्र झल्किने नेपालको नक्सा निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरी गाउँपालिकाले काम गरेको उपाध्यक्ष सीतली रोकायाले बताइन् । 

खस भाषाको सङ्ग्रहालय निर्माणको कामलाई निरन्तरता दिँदै यूनेस्कोको सहयोगमा सिञ्जालाई मूर्तअर्मूत विश्व सम्पदा सूचीको रुपमा अगाडि बढाउन गुरुयोजना तयार गरिने प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए । जिल्लाकै पवित्र धार्मिक पर्यटकीयस्थल सिञ्जाको केदारनाथमा आगामी भदौ १० मा धार्मिक मेला लाग्ने भएको छ ।  

यसबाट सिञ्जाको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जनाइएको छ । सिञ्जाका अन्य पर्यटकीय क्षेत्रसहित जुम्ला विमानस्थल, चन्दननाथ मन्दिर र सिञ्जा सभ्यताको अवलोकन गर्ने कार्यक्रम रहेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । पर्यटन मन्त्रीको दृढताका कारण यो वर्ष जुम्ला विमानस्थल स्तरोन्नतिको कामले गति पाएको छ।

salt training

कमेन्ट गर्नुहोस्