
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूँजीगत खर्च ८० प्रतिशतसम्म पुग्न दाबी गरेका छन् । आफू मुख्यमन्त्री बन्ने समयमा पूँजीगत खर्च ३० प्रतिशत नभएको उनको भनाइ छ ।
बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेपछि उनले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताए । पूर्व सरकारले अर्थमन्त्रालयबाट स्वीकृति नै नलिई मन्त्रीपरिषदबाट निर्णय गराएर जथाभावी निर्माणका काम गरिएको र आफूले त्यस्ता काम रोक्ने प्रयास गरेको उनले बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा रहेका कोही पनि पार्टीहरु मध्यावधिमा जानसक्ने अवस्था नरहेको बताउँदै अर्को सरकार बन्ने अवस्था पनि नरहेको दाबी गरे । सरकारलाई विश्वासको मत दिनैपर्ने बताउँदै उनले वर्तमान सरकारले सबै कुरा राम्रो गरिरहेको कारण विश्वासको मत दिन्न भन्न नपाउने बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेशका विभिन्न काम, कारबाही र जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै विगतदेखिका काम कारबाहीको समीक्षा गरे सबै दलले आफ्नो सरकारलाई विश्वासको मत दिने दाबी पनि गरे । उनले सबै दल मिलेर अगाडि बढ्न पनि आग्रह गरेका छन् ।