१५ असार २०८३, सोमबार

बम पड्काउँदै फिरौती रकम माग गर्ने गिरोहका तीन जना पक्राउ

असार १४, २०८०
बुटवल
बम पड्काउँदै फिरौती रकम माग गर्ने गिरोहका तीन जना पक्राउ

बम पड्काउँदै फिरौती रकम माग गर्ने गिरोहका तीन जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–४ का २७ वर्षीय अब्दुल हाकिम खान, रुपन्देहीको कोटहीमाई–३ पर्सियाका वर्ष २२ का सुरज लोहार र कोटहीमाई–४ का सुरज थारू रहेका छन् । उनीहरूलाई रुपन्देही प्रहरीले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरूलाई रुपन्देहीको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । उनीहरू तीनै जना रुपन्देहीका विभिन्न स्थानमा बम पड्काउने र फिरौती रकम माग गर्ने अपराधिक कार्यमा संलग्न भएको प्रहरीको दाबी छ । 

गत मंगलवार पक्राउ परेका उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको आशंका प्रहरीको छ।

प्रहरीका अनुसार उनीहरूले गत वैशाख  १ गते सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरलाई लक्षित गरी पर्खालमा प्रेसर कुकर बम राखेका थिए । उक्त बम स्थानीयको सूचनालगत्तै नेपाली सेनाको टोलीले डिस्पिोज गरेको थियो । 

यस्तै असार १ गते व्यवसायी भैरवप्रसाद कलवारको सिद्धार्थनगर–४ मा रहेको दाना फ्याक्ट्री गोदामको पर्खाल बाहिर प्रेसर कुकर बम विस्फोट गराएका थिए । 

व्यक्तिसँग फिरौती माग गर्ने र तर्साउने उद्देश्यले सिटी हस्पिटल भैरहवा नजिकै सडकमा समेत बम विस्फोट गराएको र यी सबै घटनामा तीनै जनाको सम्लग्नता रहेको तथ्य फेला पारेको प्रहरीको भनाइ छ ।

उनीहरूबाट दुई थान मोटरसाइकल र पाँच थान मोबाइलसमेत प्रहरीले बरामद गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्