
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कोशी प्रदेशसभा बैठक आज शुक्रवार बिहान ११ बजे बस्दैछ ।
प्रदेशसभाको बिहीवार बसेको पहिलो बैठक ३० मिटेनका लागि स्थगन गरिएकोमा बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो । बेलुकी ९ः३० बजे प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी अर्को सूचनामा शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख छ ।
कोशी प्रदेश प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन समेत)को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ । यसअघि सभा दिउँसो १ बजे सञ्चालन हुने कार्यसूची रहे पनि सभा १ः५० बजेमा प्रारम्भ भएको थियो ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव राखेर छलफल भएको छ । अब छलफलका क्रममा उठेका प्रश्नको मुख्यमन्त्री कार्कीले जवाफ दिने र प्रस्तावलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ ।