
काठमाडौं उपत्यकामा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा बिहानैबाट वर्षा भइरहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर काठमाडौंमा पानी पर्ने र रोकिने क्रम जारी रहनेछ ।
काठमाडौं उपत्यकामा बिहानैदेिख पानी परे पनि हवाई सेवा भने नियमित रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान र अवतरण नियमित भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।