
माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका ३ मदनपुर घर भई काठमाडौंको टोखा नगरपालिका ३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बू रहेका छन् । उनलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो ।
वैदेशिक रोजगारका लागि माल्टा पठाई मासिक १ लाख रुपैयाँभन्दा बढी तलवको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी लिम्बूले पीडितबाट पटक–पटक गरी ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।
वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।