
जनकपुर, २६ भदौ - प्रमुख दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रमुख दल नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली संघीयता विरोधी भएको आरोप लगाएका छन् ।
सोमबार मिडिया सेन्टरले धनुषामा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका नेता निधिले एमालेप्रति कडा टिप्पणी गरे । उनले थपे,‘एमाले मधेश विरोधी पार्टी हो, उसले संघीयता चाहेकै छैन, त्यसैले २ नम्बर प्रदेशका जनताहरुले एमालेलाई भोट दिँदैनन्, मेरो विश्वस छ एमाले मधेशमा अब उदाउने छैन्।’
नेता निधिले एमालेलाई मधेशमा टाउको उठाउन दिन नहुने समेत चेतावनी दिए । उनले भने,‘एमाले अध्यक्ष केपी ओली मधेश विरोधी नेता हुन्, एमालेले संघीयता चाहेकै छैन्।’
संविधान जारी गर्दाको बखतमा प्रमुख दलहरुले संविधानको सर्वस्विकार्यताको लागि संशोधन गर्दै जाने भनेर संसदमा सार्वजनिक प्रतिबद्धता जनाएपनि एमाले उक्त प्रतिबद्धताबाट ब्याक भएको उनको आरोप थियो । निधिले थपे,‘संसदमा बोलेको कुरा पूरा गर्ने बेला एमाले धोका दियो र संशोधन हुन सकेन्।’
उनले मधेशको समस्या समाधान गर्ने पार्टी नै कांग्रेस भएको समेत दाबी गरे । उनले थपे,‘मधेश र मधेशी जनताको मित्र शक्ति भनेको नै हाम्रो पार्टी हो, संविधान संशोधनको प्रयास अझैपनि जारी छ, भविष्यमा पनि हुनेछ।’
प्रदेश २ मा १०० सिट जित्ने कांग्रेसको लक्ष्य रहेको उनले बताए । साथै आफ्नो गृह जिल्ला समेत रहेको धनुषालाई कांग्रेसको किल्ला बनाउने उनको दाबी छ ।
त्यस्तै उनले एमाले नेता माधवकुमार नेपाल नेपालका लागि चिनियाँ राजदूतको आग्रह अनुसार उत्तर कोरियाको भ्रमणमा गएको समेत आरोप लगाए ।
निधिले राष्ट्रसंघले नाकाबन्दी लगाएको उत्तर कोरिया गएको भन्दै नेपालको आलोचना गरे । चीन र उत्तर कोरियाको साठगाँठ रहेको र चिनियाँ राजदूतकै सल्लाहमा पूर्वप्रधानमन्त्री नेपाल उत्तर कोरिया गएको उनले दाबी गरे ।
नेता निधिले भने, ‘एमालेको राष्ट्रियता कताबाट सञ्चालित छ भन्ने यसबाटै प्रष्ट हुन्छ ।’
त्यस्तै पत्रकार सम्मेलनमा कांग्रेस नेता चुनाव प्रचारप्रसार उपसमितिका संयोजक समेत रहेका नेता रमेश लेखकले प्रदेश २ को चुनाव संघीयता पक्षधर र संघीयता विरोधीहरुको जनमत संग्रह भएको धारणा राखे ।
उनले आफूले ५ जिल्लाको भ्रमण सकेर धनुषा भ्रमण छैटो जिल्ला भएको बताए । उनले पनि मधेश र मधेशी जनताको लागि लड्ने पार्टी नै कांग्रेस भएको दाबी गरे। मधेशमा अहिले कांग्रेसप्रति व्यापक जनलहर उर्लिएको समेत उनले स्पष्ट पारे ।