०२ असार २०८३, मंगलबार

परराष्ट्र नीति स्थिर भइरहेको छ, सीमासम्बन्धी समस्याले निकास पाउँछ : मन्त्री साउद

असार १६, २०८०
डडेल्धुरा
परराष्ट्र नीति स्थिर भइरहेको छ, सीमासम्बन्धी समस्याले निकास पाउँछ : मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्नमा सरकार रहेको बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा डडेल्धुराले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन् ।

“अलिकति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौं, हाम्रो परराष्ट्र नीतिका सम्बन्धमा हामीले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित मूल्य र मान्यतालाई सम्मान गर्छौं”, उनले भने, “त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौं, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी सामेल हुँदैनौं, तर संसारमा हुने घटनामा हामी तटस्थ बस्छौं, बोल्न सक्दैनौं हाम्रो विचार नै छैन भन्ने चाहिँ होइन ।” 

परराष्ट्र नीति परस्पर सन्धि र विगतको सम्झौतामा टेकेर सम्बन्ध सुधार हुने मन्त्री साउदले जनाए । उनले संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रका रूपमा निष्पक्ष किसिमले हेरिरहेको बताए । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको उनको भनाइ थियो । 

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताए । कूटनीतिक तवरबाट समस्या सुल्झाउनेतिर सरकार लागि परेको उनले जनाए।

“कालापानीलगायत देशभरका अन्य सीमाका बारेमा भारतीय पक्षले दिनुपर्ने ‘रेस्पोन्स’ हामीले कूटनीतिकरूपमा प्राप्त गर्नुपथ्र्यो, त्यो विगतमा गर्न सकिएको थिएन, भारतीय प्रधानमन्त्रीले सीमासँग सम्बन्धित समस्या वा विवाद वार्तामार्फत सामाधान गर्नुपर्छ भनेर बोल्नुभएको छ”, उनले भने, “त्यसलै सीमासम्बन्धी समस्याले निकास पाउँछ ।”

यसका साथै परराष्ट्रमन्त्री साउदले अहिलेको सत्तागठबन्धन नभत्किने प्रष्ट पारे । बाहिर हल्ला आएअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उनको दाबी थियो ।

salt training

कमेन्ट गर्नुहोस्