
जिल्ला प्रहरी कार्यालय बाराले भारतीय नम्बरको ट्रकमा लोड गरिएको २ सय ६२ केजी गाँजा बरामद गरेको छ ।
जितपुर सिमरा उप–महानगरपालिका स्थित जितपुर– वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय ट्रकबाट उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले ट्रकमा खानतलासी गरेको थियो । असार १४ मा मकवानपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए ।
बिआर–२५ जिए १४५८ नम्बरको ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्स बटन बनाएर गाँजा लोड गरेका थिए । वीरगन्ज भन्सारबाट खाली नेपालतर्फ आएको सो ट्रक गाँजा लिनकै लागि मकवानपुर पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।