कालीकोटको महावै गाउँपालिकाले खर्क (गोठ) उज्यालो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पशुपालन गर्ने किसानलाई ध्यानमा राखेर खर्क (गोठ) उज्यालो कार्यक्रम सञ्चालन गरिने भएको हो ।
गाईभैंसी, भेडाबाख्रा पाल्ने किसान घरमा नबसेर चरनका लागि टाढाटाढासम्म जाने भएकाले (गोठ) खर्कमा अँध्यारो बस्ने किसानलाई गाउँपालिकाले सोलार वितरण गरेर उज्यालो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
गाउँपालिकाले पशुपालन गर्ने किसानलाई ध्यानमा राखेर खर्क उज्यालो कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए । ‘पशुपालन उत्पादनको लागत मूल्य घटाउनुका साथै स्वस्थ पशुपालन प्रणालीको विकासका लागि घाँस विकास कार्यक्रम सञ्चालन गर्नुका साथै पशुपालन गर्ने किसानलाई खर्कमा बस्ने भएकोले सोलार वितरण गरिनेछ,’ उनले भने, ‘व्यावसायिक पशुपालनमार्फत युवालाई गाउँमा नै रोजगारी दिनका लागि प्रतिस्पर्धी अनुदान उपलब्ध गराउने लक्ष्य राखेका छौं ।’
पशुपालन गर्न चाहनेका लागि पशुपालन तालिम, किसान समूह, सहकारी, संघसंस्था र गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष सिंहले जानकारी दिए । ‘पशुपालन क्षेत्रमा दलित, महिला, जनजाति, विपन्न वर्गका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘पशुपालनबाट मासु, दूध र अण्डामा गाउँपालिकालाई आत्मनिर्भर बनाएर निर्यात गर्ने अवस्थामा पुर्याउनका लागि यो कार्यक्रम लागू गरिएको छ ।’
वर्षायामको निरन्तर झरी र असिना पानीबाट पशुचौपायालाई बचाउनका लागि पाटन वा चरन क्षेत्रमा आवश्यकता अनुसार पशु गौशाला निर्माण गर्ने गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवालले बताए । ‘पशुको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था समेत मिलाइएको छ,’ उनले भने, ‘पशुपालन गरेर युवालाई रोजगारी तथा गरीबीको अन्त्य गर्ने लक्ष्य राखेका छौं ।’