
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सदन (संसद्)को लडाईं व्यहोर्नुपर्नेछ भन्दै विद्यार्थीको कार्यक्रम छोट्ट्याएर हिँडेका छन् ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गर्ने चेतावनी दिएको छ ।
बुधवार अखिल क्रान्तिकारीको स्ववियु काउन्सिल भेलालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले एमालेले गर्ने भनेको संसद् अवरोधको सुइँको दिएका हुन् ।
‘सदनमा के–के हुने हो भन्ने छ । त्यो लडाईं व्यहोर्नुपर्नेछ,’ प्रचण्डले भने । प्रचण्डले यसो भन्दा हलमा हाँसो गुञ्जिएको थियो ।
पढ्नुहोस्, सम्बन्धित समाचार :
प्रचण्डको अभिव्यक्ति आपत्तिजनक, स्वाभिमानी नेपालीको शिर निहुरिएको छ : सांसद गौतम
‘प्रचण्ड बुढो भएको छैन’
अध्यक्ष प्रचण्डले धेरैले आफ्नो नक्कल गर्न खोजे पनि सफल नभएको बताए ।
‘प्रचण्ड सिद्धियो, अब हामी प्रचण्ड हुने हो भनेर सबैले बल गर्नुभयो । बुढो भयो प्रचण्ड, अब यसले नयाँ गर्न लाग्दैन पनि भनियो । तर, प्रचण्ड व्यक्ति होइन, प्रवृत्ति हो, विचार हो,’ उनले भने, ‘यताउतापट्टी गुट थिए, धेरै जानुभएको थियो नि, आखिर केही भयो ?’
माओले पार्टी र जनतालाई विश्वास गरेपछि सब ठीकठाक हुने भनेको स्मरण गर्दै उनले थपे, ‘पार्टीमा, जनतामा विश्वास गर्ने भनेको नेतृत्वलाई विश्वास गर्ने भनेको पनि हो ।’