२२ असार २०८३, सोमबार

कर्णालीमा मन्त्रालयगत शीर्षकमाथि छलफल, भोलि मन्त्रीले जवाफ दिने

असार २०, २०८०
काठमाडौं
कर्णालीमा मन्त्रालयगत शीर्षकमाथि छलफल, भोलि मन्त्रीले जवाफ दिने

‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०८०’ अन्तर्गत विषयगत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहेको छ । 

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको २०औं बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका शीर्षकमाथि दफावार छलफल भएको हो ।

बैठकको शून्य समयमा प्रदेशसभा सदस्य जीतबहादुर मल्लले सामाजिक विकास मन्त्रालयको रातो किताब प्रदेशसभा सदस्यको हातमा नपुगेकाले अध्ययनबिना नै छलफल हुन नसक्ने धारणा राखे। 

प्रदेशसभा सदस्य टेकराज पछाईले कार्यसूची रहेको विषयगत मन्त्रालय तथा निकायको किताब कुनै पनि सदस्यले प्राप्त नगरेको अवस्थामा छलफल हुन नसक्ने र कार्यसूचीबाट हटाउन आग्रह गरे। 

सोही समयमा सदस्य जीवनबहादुर शाहीले कार्यसूचीमा नभएका मन्त्रालयको छलफल कार्यसूचीबाट हटाउन सुझाएसँगै सभामुख नन्दा गुरुङ्ले सामाजिक विकास मन्त्रालय र प्रदेशसभा सचिवालय छलफल कार्यसूचीबाट हटाएको जानकारी गराइन् । 

सदस्य हिक्मतबहादुर विष्टले कानूनी शासन भएको राज्यमा लोकतन्त्रको राज हुने बताए । उनले भने, “कानून सबैले जानेको हुनुपर्दछ तर व्यवहारमा कतिपय कानून सबैले जानेका हुँदैनन् । मन्त्रालयले जनतालाई बुझाउन कानूनी साक्षरता कार्यक्रम ल्याउनुपर्छ ।” विधायिकी पुनरावलोकनको कार्यक्रम आउनुपर्ने धारणा सदस्य विष्टले राखे ।

प्रदेशसभा सदस्य कल्याणी खड्काले मानव अधिकारको प्रत्याभूति कर्णालीका जनताले गर्न नसकेको भन्दै यस क्षेत्रमा सरकारले कानून बनाउनुपर्ने र बनेका कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । बाढी पहिरोले क्षति बढ्दै गएकाले प्रदेश सरकारले गम्भीरता साथ सोच्नुपर्ने उनको भनाइ थियो ।

सभामुख गुरुङले आन्तरिक मामिला तथा कानून र सामाजिक विकास मन्त्रालय र प्रदेशसभा सचिवालय दफावार छलफल जारी रहेको बताउँदै सदस्यको धारणा राख्ने समय सकिएलगत्तै सम्बन्धित मन्त्रीहरूले भोलि असार २१ गते जवाफ दिनुपर्ने बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्