०५ साउन २०८३, मंगलबार
नयाँ सरकार गठनको सकस

कोशीमा सभामुख सहितको संख्या देखाएर मुख्यमन्त्री दाबी गर्दै गठबन्धन

एमालेले भन्यो – भोलिदेखि संसद् कसरी चल्छ हामी हेर्छौं ?
असार २१, २०८०
विराटनगर
कोशीमा सभामुख सहितको संख्या देखाएर मुख्यमन्त्री दाबी गर्दै गठबन्धन

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । समयसीमा नसकिँदै गठबन्धनले सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर लिएर जाने तयारी गरेको छ । 

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले बहुमत कायम गर्न सभामुख सहितको हस्ताक्षर लैजान लागेका छन् । सभामुखबाहेक गठबन्धनमा ४६ सांसद मात्रै पुग्छन् ।
 
९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भई सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य मात्रै हुन्छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुखबाहेक), एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) नेपालका १ जना सांसद छन् । उनीहरूसँग भएको संख्या जोड्दा ४६ मात्रै पुग्छ ।

गौतमले सभामुख निर्वाचित भएपछि दल त्याग गरेको घोषणा गरिसकेका छन् । दल त्याग गरेको घोषणा गरेका सभामुखको हस्ताक्षरसहित गठबन्धन दाबी पेश गर्न जाने भएपछि प्रश्न समेत उठ्न थालेको छ ।

प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ जना सांसद छन् तर सबैभन्दा ठूलो दल रहेको एमालेले भने गठबन्धनले सभामुख र प्रदेश प्रमुखलाई दबाब दिएको आरोप लगाएको छ । उसले सभामुखको नाम लिएर गए संसद् चल्न नदिने चेतावनी समेत एमालेले दिएको छ । ‘कानूनको खिल्ली उडाउने काम गठबन्धनबाट भइरहेको छ,’ एमाले संसदीय दलका नेता समेत रहेको मुख्यमन्त्री हिक्मत कार्कीले भने, ‘गठबन्धनमा भएका दलहरूले प्रदेश प्रमुखलाई पनि दबाब दिइरहेको सुनेका छौं । सभामुख र प्रदेश प्रमुख दलमा आबद्ध हुनुहुन्न । उहाँहरूलाई दबाब र प्रभावमा पार्दा भोलिदेखि संसद कसरी चल्दो रहेछ ? त्यो हामी हेर्छौं ।’
  
राप्रपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकारको स्थायित्वका लागि कांग्रेस र एमाले मिल्नुपर्ने आफ्नो धारणा रहेको बताइसकेका छन् । यसले पनि राप्रपाले गठबन्धनलाई साथ दिइहाल्छ भन्ने आधार छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्