
चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारी साधन आउन शुरु गरेका छन् ।
मिति २०८० असार १४ गते १० वटा र २० गते १५ वटा गरी जम्मा २५ वटा गरी आएको हो । साङ्ग्रिला मोटर्स प्रालिले चोभार भन्सार कार्यालयबाट भन्सार जाँच पास गर्नेगरी पेट्रोलबाट चल्ने सिट्रोन कारहरू काठमाडौं ल्याएको हो ।
पहिलो चरणमा ३४ वटा गाडीहरू चोभार आउने जानकारी नेपाल इन्टरमोडल यातायात विकास समिति, चोभार सुक्खा बन्दरगाहलाई प्राप्त भएकोमा २५ वटा गाडीहरू आइसकेको र बाँकी १४ वटा गाडी १/२ दिन भित्रै चोभार सुक्खा बन्दरगाहमा आइपुग्ने जानकारी उक्त प्रालिका अधिकारीबाट प्राप्त भएको छ ।
हाल उक्त गाडीहरू वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याएकोमा चाँडैनै उक्त कम्पनीले इलेक्ट्रिक गाडीहरू सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याउने जानकारी समेत उक्त कम्पनीका प्रतिनिधिहरूबाट प्राप्त भएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हाल सवारी साधन आउन सहजीकरण गरिएको र नाडा अटो मोबाइल एसोसिएसनसँग पनि धेरै पटक छलफल गरी चोभार भन्सार कार्यालयबाट भन्सार प्रकृया गराउन सबै प्रकृया व्यवस्थित भएपछि सवारी साधन चोभार आएका बताए ।
आगामी दिनमा अझै सवारी चोभार आउने जानकारी व्यवसायी तथा नाडाले गराएका छन् । यसका साथै अन्य व्यवसायीहरूसँग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्न केही समय लागे पनि भविष्यमा राम्रोसँग चल्ने विश्वास लिइएको उनले बताए । यसको लागि फास्ट ट्रयाक चाँडै सञ्चालनमा आउनु आवश्यक रहेको उनले बताए ।