०९ असार २०८३, मंगलबार

पर्सामा मिटर ब्याज सम्बन्धी ९१ उजुरी फर्छ्यौट

असार २३, २०८०
पर्सा
पर्सामा मिटर ब्याज सम्बन्धी ९१ उजुरी फर्छ्यौट

जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ९१ वटा उजुरी फर्छ्यौट गरेको छ ।

अनलाइनबाट दर्ता भएका १ हजार ३२१ उजुरीमध्ये छलफल विधिबाट ९१ उजुरी पीडितको पक्षमा फर्छ्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।

सहमति नभएपछि एउटा मुद्दा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये २५५ उजुरीको छानबिन गर्दा ९१ वटामा दुवै पक्षबीच सहमति भएर फर्छ्यौट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । मिटर ब्याजीविरुद्ध हाल अनलाइनबाट नयाँ उजुरी दर्ता हुने क्रम जारी रहेको र पुराना उजुरीको सम्बन्धमा क्रमशः छानबिन गरिरहेको उनको भनाइ छ । दर्ता हुने उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा जमिनसम्बन्धी मिटर ब्याज पीडितको उजुरी बढी छ । 

कसैकसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको उनले बताए । परेको उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।

छानबिनका क्रममा लेनदेन गर्नेको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे नरहेको अनुसन्धान गर्ने गरिएको प्रजिअ रेग्मीको भनाइ छ । 

‘उजुरीको छानबिन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ,’ प्रजिअ रेग्मीले भने, ‘त्यहीअनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका छलफल गराउँछौं । अहिलेसम्म धेरै जसोमा सहमतिबाटै उजुरीको फर्छ्यौट भइरहेको छ, यो राम्रो पक्ष हो ।’
 

salt training

कमेन्ट गर्नुहोस्