
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।
चीनको बेइजिङमा हुने ‘ग्लोबल फर शेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन उनी आज चीन प्रस्थान गरेका हुन् । फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधि सहभागी हुँदैछन् ।
कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)लगायत संस्थाकोसमेत सहभागिता हुनेछ ।
फोरममा सहभागितामुलक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ । नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ ।
आइतवार बेइजिङस्थित फ्रेण्डसिप होटलमा चिनियाँ विकास (सीआइडीसीए) उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटवार्ता हुनेछ । सोमवार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, मङ्गलवार उपाध्यक्ष श्रेष्ठ र चिनियाँ उपराष्ट्रपति हान चेङ्खसँग औपचारिक भेटवार्ता हुनेछ । सोही दिन राति उपाध्यक्ष श्रेष्ठ स्वदेश फर्कनेछन् ।