
नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना माग गर्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहविरुद्ध काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जती मुद्दा दर्ता गरेकी छन् । मनासिव क्षतिपूर्तिसहित मुद्दा लड्दा लाग्ने खर्चसमेत दिलाई पाऊँ भन्दै आरजुले सिंहविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।
'विपक्षी सिंहले म फिरादकर्ता, मेरो पति नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र मेरो पार्टीविरुद्ध आमजनमा भ्रम सिर्जना गर्ने, मिथ्यापूर्ण व्यक्तिगत, अप्रमाणित आरोप लगाउँदै जानाजान दूषित नियत राखी मेरो राजनीतिक जीवन र सार्वजनिक छविलाई समाप्त गराउने योजना राखी मेरो बेइज्जती गरेको हुँदा हदैसम्मको सजाय गरी पाऊँ,' आरजुले दिएको मुद्दाको फिरादपत्रमा उल्लेख छ ।
'विपक्षी सिंहले विभिन्न सञ्चारमाध्यममा तल्लोस्तरको गालीगलौज, सतही, मिथ्यापूर्ण र भ्रमपूर्ण कुरा उल्लेख गर्दै म फिरादकर्ताको नाम नै किटान गरी मलाई पम्फादेवी भन्ने उपनाम दिई अन्तर्वार्ताका क्रममा मलाई विचौलिया तन्त्र खडा गर्न, भ्रष्टाचार गरी अर्थतन्त्र समाप्त गर्न, विदेशीको अखडा बनाउन, विदेशीको एस म्यान भई काम गर्न , लोकतन्त्र समाप्त पार्न लागिपरेको लगायतका अमर्यादित भाषा प्रयोग गरी आरोप लगाई मेरो मान, मर्यादा, सामाजिक प्रतिष्ठा र इज्जतलाई गम्भीररूपले आघात पुर्याउने कसूरजन्य कार्य गरेको हुनाले हदैसम्मको कारवाही गरी पाऊँ,' आरजुको फिरादपत्रमा उल्लेख छ ।
विपक्षीलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गरी पार्टीबाट निष्कासन गरेपछि विभिन्न सञ्चारमाध्यम, आमसभा, गोष्ठी, भेलामा आफू, आफ्नो पति (शेरबहादुर देउवा)को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको छवि, मान प्रतिष्ठा हनन् गर्न भर्मजदुर प्रयत्न गरी अपमान र अन्याय गर्दै आएको आरजुले फिरादपत्रमा उल्लेख गरेकी छन् ।
आफूहरूविरुद्ध भएको अपमान र अन्यायको प्रतिवाद गरी बसेको भए पनि आमजनमानसमा भ्रम सिर्जना गर्ने, मिथ्यापूर्ण, व्यक्तिगत, अप्रमाणित आरोप लगाउँदै आएका विपक्षीमा थप दम्भ, आवेग र अहंकार बढ्दै गएको आरजुले उल्लेख गरेकी छन् ।
सिंहले असभ्य प्रकारका व्यक्तिगत गालीगलौज गरी बेइज्जतीपूर्ण कसूरको कार्य गरेको, सार्वजनिक मिडिया, टेलिभिजनलगायतका विभिन्न कार्यक्रममा अन्तर्वार्ता दिई व्यक्तिगतरूपले बेइज्जतीपूर्ण कसूरको प्रचारप्रसारमा लाग्दै आएको उनले उल्लेख गरेकी छन् ।
विपक्षी सिंहले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ को उपदफा (१), उपदफा (२) को खण्ड (क) मा लेखिएअनुसारको कसूर गरी अन्तर्वार्ता दिई विद्युतीय सञ्चारमाध्यमबाट प्रसारण गराई बेइज्जत गरेको हुँदा विपक्षीलाई सोही ऐनको दफा ३०७ (१) अनुसार हदैसम्मको कैद जरिवाना गरी पाऊँ भन्दै आरजुले मुद्दा दिएकी हुन् ।
त्यसैगरी सोही दफाको प्रतिबन्धात्मक वाक्यांश अनुसारको थप कैद र जरिवानासमेतको सजाय गर्न उनले माग गरेकी छन् । त्यसबाहेक विपक्षीले आमसञ्चारको माध्यमद्वारा बेइज्जती गरेको हुँदा विपक्षीबाट उक्त दफा ३०७ (२) अनुसारको मनासिव क्षतिपूर्ति र मुद्दा गर्दा लाग्ने मनासिव खर्च समेत दिलाई पाऊँ भन्ने माग पनि उनले गरेकी छन् ।
फिरादकर्ता आरजुले आफ्नो विषयमा शुरूमै शैक्षिक योग्यता तथा सार्वजनिक जीवनको विषयमा उल्लेख गरेकी छन् ।
सन् १९७८ मा ललितपुरको सेन्ट मेरी हाइस्कूलबाट 'ओ लेभल' सिनियर क्याम्ब्रिजको शैक्षिक योग्यता प्राप्त गरेको उनले उल्लेख गरेकी छन् । सन् १९८१ मा भारतको हिमाञ्चल युनिभर्सिटी सिमलाबाट बीए, सन् १९८४ मा भारतको पञ्चाब युनिभर्सिटी चण्डीगढबाट एमए र सोही युनिभर्सिटीबाट सन् १९९० मा पीएचडी गरेको उनले उल्लेख गरेकी छन् ।
महिला सशक्तिकरण र बालबालिकाको हकहित संरक्षणमा लाग्नुका साथै सन् १९९४ देखि नेपाली कांग्रेसको सक्रिय सदस्य रहेको उनले उल्लेख गरेकी छन् । सन् २००४ देखि नेपाली कांग्रेसको महासमिति सदस्य हुनुका साथै सन् २००७ देखि नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य रहेको उनले उल्लेख गरेकी छन् ।
सन् २००८ देखि २०१२ सम्म संविधानसभा सदस्य रहेको तथा २०१३ देखि २०१७ सम्म संविधानसभा तथा व्यवस्थापिका सदस्य हुनुका साथै विभिन्न संसदीय समितिमा काम गर्दै आएको उनले उल्लेख गरेकी छन् । २०७९ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा समेत समानुपातिक सदस्य निर्वाचित भई हाल पनि प्रतिनिधिसभा सदस्य रहेको उल्लेख गरेकी छन् ।
त्यसैगरी उनले विपक्षी सांसद सिंहको परिचयबारे पनि उल्लेख गरेकी छन् । २०५४ सालमा गोरखापत्र संस्थानमा पार्टीले सञ्चालक सदस्य नियुक्त गरेको, २०६३ सालमा कांग्रेसबाट अन्तरिम व्यवस्थापिकाको सदस्य बनाइएको उल्लेख गरिएको छ । २०७० सालमा कांग्रेसबाटै सर्लाही- ६ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएको, २०७४ सालमा कांग्रेसबाट सर्लाही- ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएको र २०७९ सालमा स्वतन्त्र भएर सर्लाही- ४ मा निर्वाचित भई हाल प्रतिनिधिसभा सदस्य रहेको उनले उल्लेख गरेकी छन् ।
२०८० जेठ २४ गते दर्ता गरिएको उक्त मुद्दाको विषयमा अदालतले विपक्षी सिंहको नाममा म्याद जारी गरी ललितपुर जिल्ला अदालतलाई लेखी पठाएको छ । सिंहको ठेगाना ललितपुरको भैँसेपाटी रहेकाले ललितपुर जिल्ला अदालतलाई म्याद तामेल गर्न लेखी पठाइएको भए पनि हालसम्म म्याद तामेल नभएको काठमाडौं जिल्ला अदालतका एक कर्मचारीले बताए । म्याद तामेल भएर सिंहले प्रतिउत्तर लगाएपछि मात्र मुद्दाको सुनुवाई प्रक्रिया अगाडि बढ्नेछ ।
आरजुले विभिन्न सञ्चारमाध्यममा सिंहले दिएको अन्तर्वार्तालाई उतार गरी लिखितरूपमा पेश गर्नुका साथै अडियो, भिडियोसमेत पेन ड्राइभमा प्रमाणको रूपमा पेश गरेकी छन् ।